सबै अटाउने राष्ट्रवादमा एमाले आउनुपर्छ ः सञ्चारमन्त्री



नेपाल समाचारपत्र,भक्तपुर
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गर्नुभएको छ।

शुक्रबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले एमाले र मधेसवादी दलसमेत सरकारमा सहभागी भए संविधान कार्यान्वयन गर्न सहज हुने धारणा राख्नुभयो।
उहाँले एमालेलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्दै सबै अटाउने फराकिलोे राष्ट्रवादमा एमाले आउनुपर्नेमा जोड दिनुभयो।

सरकारले निर्वाचनको वातावरण बनाउन असन्तुष्ट दल र पक्षसँग निरन्तर वार्ता गरिरहेको बताउँदै वार्ता सफल भएपछि देशमा चुनावको माहोल थप उत्साहजनक हुने उल्लेख गर्नुभयो।

एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘एमालेले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दै छ। म एमालेलाई परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाति भाषा, धर्म अटाउने खुला टोपी लाउन आग्रह गर्दछु।’

संविधान संशोधनको विषयमा चर्चा गर्दै उहाँले अबको चुनावमा जनमत जितेर आफूले चाहेजस्तो संविधान संशोधन गर्न सुझाव दिनुभयो।

गाउँगाउँमा चुनावको माहोल बनेको बताउँदै उहाँले भन्नुभयो– ‘निर्वाचन हुन्न कि भनेर शंका नगर्नुस्। सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँगाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ।’
अहिले देशमा दुई खाले मूल्य मान्यताबीच संघर्ष भइरहेको बताउँदै समाजमा त्यसको प्रभाव देखापरेको बताउनुभयो। एनसेल प्रकरणका बारेमा बोल्दै उहाँले कर छुट दिनेबारेमा मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्