‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गरिने



काठमाडौँ, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।

पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ ।

राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए ।

गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले सो विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्