ढुङ्गेलको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त



काठमाडौँ, ३ चैत । नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य, पूर्वसभापति एवम् पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गलेको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपालमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुङ्गेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको अवस्थामा उहाँको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ,” पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

नेता ढुङ्गेलको आज डिल्लीबजारस्थित उहाँकै डेरामा सुतिरहेको अवस्थामा निधन भएको हो । विसं २०१३ सालमा रामेछापको तत्कालिन पकरवास गाविसमा जन्मिनु भएका ढुङ्गेलले पञ्चायती व्यवस्था विरुद्ध नेपाली काँग्रेसले सञ्चालन गरेको सङ्घर्ष तथा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उहाँले कयौँं पटक जेलजीवन समेत व्यतित गर्नु भएको थियो । विसं २०५६ मा भएको निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट रामेछाप क्षेत्र नं २ बाट सांसद पदमा निर्वाचित हुनु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्