राजनीतिमा युवाशक्तिको हस्तक्षेप



ध्रुव अधिकारी

युवा क्रान्तिका वाहक तथा देशका रक्षक हुन्। त्यति मात्र होइन, युवा इतिहासका सर्जक, युगका अग्रगामी तागत हुन्। नेपालको इतिहासमा युवाहरुको बहादुरी शृङ्खलाको अध्ययन गर्ने हो भने २००७ सालदेखि २०६२⁄६३ सम्मका हरेक ऐतिहासिक रानीतिक आन्दोलनमा आफ्नो नाम अग्रस्थानमा राखेको स्पष्ट हुन्छ। तर विडम्बना भनौं, नेपाली युवाहरु राजनीतिक दल तथा शासकहरुको मात्रै भर्याङ बन्न पुगे। न युवाले रोजगार पाए, न अवसर ? नेपालमा जनसख्याको झन्डै ४० प्रतिशत युवाहरुले ओगटेको छ। विद्यार्थी, किसान, मजदुर, शिक्षक, लेखक, कलाकार, डाक्टर, कर्मचारी, पत्रकार, नेता, कार्यकर्ता हरेक क्षेत्रमा रहेको ठूलो हिस्सा युवाहरुको नै छ। तर हाल आएर युवाको पहिचान रेमिट्यान्स अर्थात् (विप्रेषण) भएको छ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलताका कारण देश जर्जर अवस्थामा छ। आजसम्म मुलुकले ५ वटा कम्युनिस्ट प्रधानमन्त्री पाएको छ, त्यसमा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ त दुईपटक प्रधानमन्त्री भइसकेका छन्। अहिले उनैको नेतृत्वमा सरकार छ। त्यति मात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति कम्युनिस्ट छन्। सरकारका प्रमुख अंगहरुमा कम्युनिस्टहरुकै बाहुल्यता छ। तैपनि समस्या घट्नुको सट्टा झन् बढ्दै गएको छ। चौतर्फीरुपमा निराशा, कुण्ठा, आक्रोश र पलायनको अवस्थाले देश भयानक दुर्घटनातिर खस्किरहेको छ। संसद्वादी दलहरुबीच एक–आपसमा चरम खटपटी, छटपटी मौलाएको छ। बेरोजगारी, महँगी, भ्रष्टाचार, कमिसनतन्त्र, चोरी, डकैती, हत्या, हिंसा, राजनीतिक भ्रष्टाचार, क्षेत्रीय असमानता आदि विषयले मुलुक आक्रान्त छ। अहिले प्रतिक्रियावादी राज्य सत्ताले युवाहरुको विद्रोही स्वभाव र चेतनालाई मत्थर अनि कमजोर पार्न तथा शोषणकारी राज्यसत्तालाई बचाइराख्न पाश्चात्य पुँजीवादी छाडा, यौनवादी उच्छृङ्खल संस्कृतिलाई बढवा दिने गलत नीति अवलम्बन गरेको छ। युवाहरुको सृजनात्मक विद्रोही स्वभाव, अत्याचारका विरुद्ध लड्ने तागतलाई ऊर्जाहीन र विदेश पलायन बनाउने राज्य सत्ताको कसरत छ। देश चलाउने मुख्य मेरुदण्ड युवाशक्तिलाई देशमै रोजगारी सृजना गर्नुको सट्टा रेमिट्यान्सबाट देश चलाउने नालायक नीतिलाई भण्डाफोर गरी सम्पूर्ण युवाशक्ति संघर्षको दिशामा बढ्नु जरुरी छ।

२०५२ सालबाट शुरु भएको महान् जनयुद्ध नेपाली कम्युनिस्ट आन्दोलनकै ऐतिहासिक कदम थियो। यसले पुरानो सत्ताको विरुद्धमा विजय हासिल गर्यो। नेपालमा पहिलो पटक दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासनको अवस्था निर्माण भयो। जनयुद्धको प्रभावले मुलुकमा राजनीतिक, सामाजिक, सांस्कृतिक आदि जागरण अभूतपूर्वरुपले पैदा भयो। त्यस युद्धमा सत्रौं हजारको सङ्ख्यामा बलिदानी भयो। जनताको बीचमा कम्युनिस्टहरु निकै लोकप्रिय पनि भए। परन्तु शान्तिकालमा आएपछि यो उच्चता र ऐतिकासिकता बच्न सकेन। किन यस्तो भयो ? यसबारे गम्भीर बहस हुनु जरुरी छ।

मुलुकमा अहिले भ्रष्टाचार महारोगको रुपमा फैलिएको छ। अहिले राजनीतिक प्रणालीको साँचो नै रकममा छ। खासगरी भन्सार, मालपोत, जलस्रोत, निर्माणजस्ता क्षेत्रमा पैसाको ठूला चलखेल हुने गरेको छ। विकास खर्चको लागि छुट्याएको रकम ७ महिनामा १५ प्रतिशत मात्र खर्च भएको छ। अघिल्लो वर्ष विकास खर्च अर्थात् पुँजीगत खर्च ५६ प्रतिशत मात्रै रहेकोमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले यसपालि यो मात्रा ८० प्रतिशत नघटाउने दाबी गरेका थिए। अब लक्ष्य भेटाउन पाँच महिनामा ६५ प्रतिशतभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ। सरकार जानाजानी भ्रष्टाचार गर्न यस्तो कार्य गरिरहेको छ।

विगतदेखि अहिलेसम्मका सत्ताधारीले एनजीओ⁄आईएनजीओ हुँदै घुसेको साम्राज्यवादी नीतिअनुसार मुलुक सञ्चालन गर्दै आएका छन्। देशको मूल बजेटभन्दा बढी रकम त्यस्ता संस्थामार्फत भित्र्याइरहेका छन्। त्यस्ता रकमको अहिलेसम्म कुनै छानबिन हुन सकेको छैन। आज मुलुकमा अर्को ठूलो समस्या अंगीकृत नागरिकहरुको छ। ठूलो संख्यामा विगतका शासकहरुले गैरनेपालीलाई नागरिकता प्रदान गरेका छन्। आज उनीहरुले नै तराईलाई विखण्डन गर्ने योजना बनाइरहेका छन्। यस्तो योजनाको पनि भण्डाफोर गर्नु आजको आवश्यकता हो। देशको भविष्य कस्तो हुन्छ भन्ने कुरा देशका युवासोच र क्रियाकलापबाट हुन्छ। राज्यले युवालाई पथभ्रष्ट, व्यक्तिवादी, नालायक र दास मनोशक्तिको विकास गराउन अनि विद्रोही चेतनालाई समाप्त पार्न गरेको सम्पूर्ण हथकण्डालाई चिर्नु आजको आवश्यकता हो।

युवाशक्ति राजनीतिक दलको मेरुदण्डको रुपमा प्रयोग भइरहेका छन्। हरेक राजनीतिक दलमा युवा नहुँदा हुन् त सबै दल अपांग हुने थिए। तर प्रायः राजनीतिक दलमा ठोस ढंगले युवा नीति छैन। युवाशक्तिलाई देशको उन्नतिको दिशामा सक्रिय सहभागिता गर्नुपर्ने बेलामा राजनीतिक अभिष्ट पूरा गर्नका लागि दलीय नेतृत्वले भरपूर उपयोग गर्ने र आफ्नो मक्सत पूरा भइसकेपछि तिनै युवालाई उपेक्षा गर्ने अनि काम नदिएर निष्कृय पार्ने काम भइरहेको छ। यति बेला मुलुकमा प्रायः दलहरु जनतासँग जोडिएर राजनीति गरिरहेका छैनन्। राजनीतिको मूल उद्देश्य समाजलाई रुपान्तरण गरी धनी र गरिबबीचको असमानताको खाडललाई कम गरेर मुलुकलाई समृद्धशाली बनाउनु हो, तर त्यो हुन सकिरहेको छैन। समस्या झन्–झन् जटिल बन्दै गएको छ। तसर्थ वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि सम्पूर्ण युवाशक्ति एकजुट भई संघर्षको दिशामा अघि बढ्नु आजको आवश्यकता हो।

(लेखक अधिकारी नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्