“काँठ”को विगत र वर्तमान अवस्था



सानुराजा पुरी

शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ भनिन्छ। सामान्य बोलिचालीको भाषामा काँठ भनेको शहर पनि होइन गाउँ पनि होइन। काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो त केही ग्रामीण जीवनशैलीजस्तो हुन्छ। राजधानी उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ। यसो हेर्दा शहरिया जनजीवनजस्तो, तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चलिरहेको छ।

हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो। काँठको जनजीवनमा आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो। काठमाडौं उपत्यकाको चक्रपथभित्रको स्थानलाई काँठका मानिसहरु शहर भन्ने गर्दथे। आफ्नो घरगाउँबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरु शहर जाने भन्ने सम्बोधन गर्दथे। काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सवालमा शहरप्रति निर्भर थिए। चाल्नाखेलबाट मच्छेगाउँ, थानकोटबाट रामकोट जानुस्, सबै काँठका बासिन्दा थिए। बालाजुबाट धर्मस्थली वा जोरपाटीबाट आलकोट पुग्नुस्, सबैमा एक खालको आतिथ्यता थियो। काँठको गीत, संगीत एक प्रकारको थियो। घरहरु परम्परागत शैलीका थिए। गाई, भैंसी, बाख्राका साथै हाँस, कुखुरापालनले काँठ दूध र मासुमा आत्मनिर्भर थियो। वातावरण सफा र स्वच्छ हुँदा अन्नमा समेत कुनै निकायको मुख ताक्नुपर्दैनथ्यो काँठले। काठँका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो। काँठका मानिसहरुबीच सुख–दुःख साटासाट गर्ने, विवाह, व्रतबन्ध, मृत्यृ संस्कारमा एक–आपसमा सद्भाव, सहयोग आदानप्रदान देख्न सकिन्थो।

तर काँठको कायापलट भएको केही समय मात्र भयो। काँठ अब काँठजस्तो रहेन। समयको आरोहअवरोहबाट काँठ अछूतो रहन सकेन। यसलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तमा समाहित हुन बाध्य बनायो समयले। करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ, जसको अनुभव र अनुभूति छोटो समयमा नै काँठका जनता र काँठलाई नजिकबाट विश्लेषण गर्नेले गर्न सक्छ। काठँको हरियाली सकिएको छ। काँठ अब ‘हाई–टेक’मा परिवर्तन भएको छ। काठँका करिब ७० प्रतिशत घरका एक–दुई जना सदस्य रोजगारीका लागि वा अन्य कार्यका लागि विदेशिएका छन्।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि जग्गा होइन त्यहाँ कुनै अमूल्य चीजको खरिद–बिक्री भैरहेको छ। जग्गाको मूल्य आकाबिएको कारण काँठका मानिसका जग्गा धमाधम बिक्री भैरहेको छ। जग्गा बिक्रीबाट भएको आम्दानी घर बनाउने, गाडी–मोटरसाइकल खरिद गर्नेजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने होडबाजी चलेको छ। जग्गा बिक्रीपछि काँठमा अव्यवस्थित शहरीकरण बढेको छ भने आधुनिक शैलीका घरहरु ठडिएका देखिन्छन्। हिजो देखिएको हरियो वनको ठाउँमा कंक्रिटका जंगल खडा भएका छन्। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको जताततै देख्न सकिन्छ। वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदूषित भएको छ।

काँठका बासिन्दाको हिजो गाईभैंसी, बोकाबाख्रा बाँध्ने गोठको ठाउँमा आज मोटर र मोटरसाइकल राख्ने ग्यारेज बनेको छ। अन्न उत्पादन हुने उर्वर भूमिमा हाउजिङ र अपार्टमेन्ट ठडिएका छन्। बारीको कान्लो, खेतको गरो, हरियो जंगलको नामोनिशान छैन। काँठ यति सम्भ्रान्त भएको छ, हरेक घरमा हरेक मानिससँग ल्यापटप, मोबाइल, वाइफाइलगायतका सुविधा सजिलै उपभोग गरिरहेको देख्न सकिन्छ। काँठको यो विकास राम्रो हो, आधुनिकताको विकास र प्रयोग आफैंमा राम्रो हो। त्यसैले काँठ ई–काँठ हुँदै छ। हिजोको आत्मीय काँठ आज हाई–टेक काँठमा परिवर्तन भएको छ। आजभोलिको काँठमा हिजोको जस्तो आत्मीयता एक–अर्काको सुख–दुःखमा साथ दिने परम्परा मरिसकेको छ। काँठका कतिपय संस्कृतिक परम्पराको अतिक्रमण भएको छ। काँठमा हिजोको जस्तो काँठे भाकाको गीत–संगीत छैन।

शायद काँठ अब शहर भएको छ। काँठमा कसैलाई कसैको वास्ता मतलव छैन। एउटा छिमेकी र अर्को छिमेकीको महिनौंसम्म भेट हुँदैन। काँठको जनजीवन व्यस्त भएको छ। चिया, कफीको चुस्कीसँगै सामाजिक सञ्जलाको फेसबुक, भाइबर, ट्वीटरमा गफगाफ हुँदै दैनिकी शुरु हुन्छ। छोराछोरी विदेशमा, श्रीमान् वा श्रीमती विदेशमा, सबै गफगाफ ‘भर्चिवल वल्र्ड’मा हुन्छ काँठका मानिसहरुको। काँठ वा काँठेहरु अब हाई–टेकमा परिवर्तन भएका छन्, सवाल यत्ति हो कि परिवर्तनले राम्रा⁄नराम्रा पक्षसँगै लिएर आएको हुन्छ। काँठको हिजोको आत्मीयता, सद्भाव नमरोस् भन्ने मात्र हो।

प्रतिक्रिया दिनुहोस्