देव लिम्बूको चुनौती– मलाई होइन बाबुरामलाई कारवाही गर



काठमाडौं (नेस) ।
नयाँ शक्ति पार्टीका नेता देव लिम्बूले आफूलाई होइन देश विरोधी गतिविधिमा लागेका डा. बाबुराम भट्टराईलाई चाहिँ कारवाही हुनुपर्ने माग गरेका छन्। उनले यस्तो माग राख्दै नयाँ शक्ति पार्टीमा स्पष्टिकरण पत्र बुझाएका छन्। पार्टी संयोजक बाबुराम भट्टराईले भारतको पक्ष लिँदै जातिवादी, साम्प्रदायिक र विखण्डनकारी विचार बोकेको आरोप लगाउँदै आएका लिम्बूलाई स्पष्टिकरण सोधिएको थियो।

उनले स्पष्टिकरणमा बाबुराम भट्टराई भारतपरस्त, जातिवादी, साम्प्रदायिक भएको आरोप लगाउँदै उनीबाट पार्टी र देश बचाउनुपर्ने आशय व्यक्त गरेका छन्।

नेता लिम्बूले बाबुरामको चुनाव विथोल्ने रणनीति र भारत परस्त जातिवादी नीतिमाथि कडा प्रहार गर्दै पार्टीमा तानाशाही हिटलरी शैली सहन नसकिने स्पष्टिकरणमा उल्लेख गरेका छन्। जातिवादी र भारतपरस्त शक्तिहरुसँग नयाँ शक्ति पार्टी टाढै बस्नुपर्ने उल्लेख गर्दै लिम्बूले बाबुरामको नीतिमा कडा प्रहार गरेका छन्। उनले लेखेका छन्– ‘भारतीय हस्तक्षेपको चुईंक्क विरोध गर्न नसक्ने पार्टीहरुसँग नयाँ शक्ति तथा यसका नेता कार्यकर्ताहरु टाढै बस्नुपर्छ ।’

उनले लेखेका छन् ‘नयाँ संविधान जारी भइसकेपछि संविधानको अधिकतम उपयोग गर्नु नै आजको आवश्यकता हो, हिजो जातीय कोणबाट उठेका मागहरुलाई बोकेर हिँड्नुको अब औचित्य छैन । संविधानले प्रदान गरेको समावेशी अवधारणालाई कार्यान्वयनमा लैजानु नै देश र जनताको आवश्यकता हो र यसैमा सबै जातीय समुदायहरुको पनि हित छ भन्ने अवधारणासाथ नयाँ शक्ति पार्टी गठन भएको हो । यो अवधारणा विपरित पार्टी संयोजक डा. बाबुराम भट्टराई तथा अन्य केही नेताहरु चलिरहनुभएको देखिँदैछ र जनस्तरमा त्यस्तो गुनासो पनि आइरहेको छ ।’

उनले फेसबुक ट्विटरमा लेख्नु आफ्नो व्यक्तिगत स्वतन्त्रता भएको दावी गरेका छन्। लिम्बूलाई केही दिन पहिले बाबुरामले ट्विटरमा ब्लक गरेपछि हंगामा भएको थियो। लिम्बूले फेसबुक र ट्विटरमा बाबुरामको भन्दा ठिक विपरित विचार लेखेर बाबुरामलाई कडा प्रहार गरिरहेका छन् ।

तानाशाही हिटलरी शासन अमान्य

मेरो व्यक्तिगत सार्वभौमिकता प्रयोग गरेर फेसबुक, ट्विटर लगायतका सामाजिक संजालमा धारणा राख्न, फरक मत राख्न, प्रतिक्रिया र सुझाव दिन, लेख लेख्न, विज्ञप्ति दिन तथा अन्र्तवार्ता दिन म स्वतन्त्र छु । पार्टीका केही सदस्यले सार्वभौम अधिकार प्रयोग गर्न पाउने, केहीले चाहिँ नपाउने हुन सक्दैन । सार्वजनिक रुपमा फरक मत राखेकै कारणले कारवाही गरिनु एक लोकतान्त्रिक पार्टीका लागि सुहाउने काम होइन । पार्टीभित्र मात्र विचार राख्न पाइने तर बाहिर स्वतन्त्र रुपमा विचार व्यक्त गर्न नपाइने खालको अभ्याश नेपालमा विगतमा कम्युनिष्ट पार्टीहरुले गर्ने गरेका थिए ।

अझै पनि केही कम्युनिष्ट पार्टीहरुमा यस्तो अभ्याश रहेको देख्न सकिन्छ । तर, लोकतान्त्रिक र खुल्ला राजनीतिक पार्टीमा पार्टीभित्र गोप्य रुपमा विचार राख्ने, बाहिर जनता माझ चाहिँ नभन्ने गुप्त शैली सुहाउँदैन ।सार्वजनिक नहुने गरी गोप्य रुपमा विचार राख्ने कार्य तानाशाही हिटलरी शासन व्यवस्थामा मात्र हुन्छ । लोकतन्त्रमा यस्तो शैली शोभनीय हुन सक्दैन । नयाँ शक्ति जनताको पार्टी हो र यस पार्टीभित्रका सबैखाले मत तथा विचारहरु जनतामाझ खुल्ला रुपमा लैजानुपर्छ, खुला रुपमा छलफल हुनुपर्छ । जनताले थाहा पाउलान् कि भनेर पार्टीभित्र गोप्य रुपमा विचार राख्ने कार्यशैली नयाँ शक्ति पार्टीले अपनाउनु हुँदैन । नयाँ शक्ति पार्टी स्थापनाको अवधारणा यो हुँदा पनि होइन । तसर्थ, पार्टीलाई बल पुराउने गरी स्वतन्त्र रुपमा विचार राख्दा कारवाही गर्ने होइन कि बरु त्यस्ता विचारलाई सम्मान गर्दै बहस गर्न आग्रह गर्दछु ।

कोसँग सम्पर्क गर्ने मेरो खुसीको कुरा हो

स्पष्टिकरण पत्रमा मैले देशको विभिन्न भागमा गई वैठक संचालन गरेको उल्लेख रहेछ । विभिन्न राजनीतिक तथा गैरराजनीतिक संगठन, संघसंस्था तथा समूहहरुले आयोजना गर्ने वैठक भेलामा आमन्त्रण गरिँदा म आफ्नो समयको अनुकूलता र इच्छा अनुसार गइरहेछु र आफ्नो मन्तब्य समेत राख्ने गरेको छु ।वैठकहरुमा सहभागी भएवापट मलाई या अरु कसैलाई कारवाही गरिनु हास्यास्पद हो । यस्ता वैठक भेलामा जादा पार्टीलाई जानकारी गराउन सम्भव पनि हुँदैन र जानकारी गराउन आवश्यक पनि ठान्दिन ।कृपया आइन्दा यस्तो विषयमा स्पष्टिकरण सोध्ने कष्ट नगर्नुहोला ।

पार्टीले आफ्ना सदस्यको व्यक्तिगत स्वतन्त्रता हनन गर्न हुँदैन । त्यसैगरी पार्टीको जानकारी बिना सम्पर्क गरेको पनि स्पष्टिकरणमा उल्लेख छ ।पार्टीमा रहेका व्यक्तिले कहाँकहाँ सम्पर्क गर्छ त्यो पार्टीको जानकारीमा हुनुपर्छ भन्नु पटक्कै सुहाउँदैन । हो, युद्ध गरिरहेको पार्टी भए पार्टी सदस्यहरुको सम्पर्क पार्टीको जानकारीको विषय हुनुपर्छ पनि होला तर खुला तथा लोकतान्त्रिक पार्टीमा मैले कहाँ कोसँग सम्पर्क गर्छु, कोसँग सम्बन्ध राख्छु, कोसँग हेलमेल गर्छु भन्ने पार्टीको सरोकारको विषय होइन । कृपया आगामी दिनमा कसैलाई स्पष्टिकरण सोध्दा यस्ता निजी विषयमा चाहिँ नसोध्न विनम्र अनुरोधका साथै सुझाव छ ।

बाबुरामको विचार गलत छ

स्थानीय चुनाव र संविधान संशोधन आपसमा जोडिएको विषय होइन ।पार्टी संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नभई स्थानीय चुनाव हुन सक्दैन भनी राख्नुभएको अवधारणा गलत छ । किनभने संविधान संशोधन भनेको नितान्त संसदीय कार्य हो भने स्थानीय चुनाव लाखौंलाख जनताले भोट हाल्ने विषय हो । संविधान संशोधन जतिबेला पनि संसद वैठक राखेर गर्न सकिन्छ, यसका लागि सीमित व्यक्तिको सहभागिता चाहिन्छ तर चुनाव त्यस्तो विषय होइन । चुनावका लागि लामो तयारी, राज्यको अपार साधनस्रोत खर्च हुन्छ, लाखौं जनताको सहभागिता हुन्छ । चाहनासाथ संविधान संशोधन गर्न सकिन्छ तर चाहनासाथ चुनाव गर्न सकिन्न । जस्तो कि अघिल्लो अन्तरिम संविधान एकदर्जन भन्दा धेरै पटक संशोधन भयो तर त्यस अवधीमा चुनाव भने दुई पटक मात्र भयो ।

हो, चुनाव हुनु अघि नै संविधान संशोधन गर्न सकिन्छ तर संविधान संशोधन नभई चुनाव गर्नै हुँदैन भन्न मिल्दैन । चुनावको अघिल्लो दिन संविधान संशोधन गरे पनि हुन्छ, भोलिपल्ट संशोधन गरे पनि हुन्छ । चुनाव अगाडि सात पटक संविधान संशोधन गर्न पनि सकिन्छ ।संविधान संशोधन एउटा प्रकृया हो र चुनाव अर्काे प्रकृया हो । संविधान संशोधनको नाममा चुनाव छेक्नु गलत कार्य हो । नयाँ शक्ति जस्तो अत्यन्तै लोकतान्त्रिक र जनता केन्द्रीत पार्टीेले निशर्त चुनावमा भाग लिनुपर्छ । जनतामाझ जाने कार्यमा कुनै शर्त राखिन हुन्न । लोकतन्त्रमा जनता नै सर्वाेपरी हुन् ।जनताले चाहे भने संविधान संशोधन मात्र होइन संविधान नै फेर्न पनि सक्छन् भन्ने तथ्य हाम्रै देशको इतिहासले पनि प्रष्ट पारिसकेको विषय हो ।

संसदमा रहेका राजनीतिक दलहरुको आपसी विवाद तथा मतभेदका कारण संविधान संशोधन हुन नसकिरहेको हामीले देखिरहेका छौं । स्थानीय निर्वाचनको विषय अगाडि उनीहरुको मतभेद गौण विषय हो । उनीहरुको मतभेद सुल्झिएपछि मात्र जनताले स्थानीय चुनावमा भोट हाल्न पाउनुपर्छ भन्नु न्यायसंगत हुँदैन भन्ने मेरो दृढ विश्वाश छ । एक लोकतान्त्रिक पार्टीको सदस्यको नाताले मेरो प्रथम र अनिवार्य कर्तव्य जनताको मत हाल्न पाउने अधिकारको पक्षपोषण गर्नु हो । यसै मुताबिक मैले आफ्नो विचार सार्वजनिक गरेको हूँ । मेरो विचारले पार्टीलाई फाइदा पुगेको ठानेको छु । किनभने पार्टीभित्रका विविध विचार सार्वजनिक रुपमा जाँदा नयाँ शक्ति पार्टी एउटा जीवन्त र गतिशील पार्टी हो, यो पार्टीभित्र विभिन्न मतहरुले खेल्ने मौका पाउँछन् भन्ने तथ्य जनता माझ उजागर भएको छ ।

देशभक्त बनौं

नयाँ शक्ति पार्टी कुनै जातीय साम्प्रदायिक या क्षेत्रीय पार्टी होइन र यसलाई त्यस रुपमा चित्रित गराउने प्रयासलाई निस्तेज बनाउनु आज हरेक पार्टी सदस्यको कर्तब्य हुन आएको छ । नेपालले विगतमा जनयुद्धको नाममा ठूलो हिंसा भोगिसकेको छ । जनयुद्धलाई विदेशीले के कसरी उपयोग गरे भन्ने समीक्षाको विषय हो । अहिले पनि नेपाललाई हिंसामा डुबाउन खोज्ने तत्वहरु सक्रिय देखिएका छन् । उनीहरुले वर्तमान संविधान भत्काउने, संविधान कार्यान्वयन हुन नदिने, चुनाव हुन नदिएर नेपाललाई अस्थिरतामा लैजाने कुचेष्टा गरिरहेका छन् ।

यस्ता कुचेष्टा विरुद्ध नयाँ शक्ति पार्टीले अग्रपंक्तिमा उभिएर प्रतिवाद गर्न सक्नुपर्छ । नयाँ शक्ति पार्टीका हरेक सदस्यले पार्टीभन्दा देश ठूलो हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्नुपर्छ र यसका लागि म पनि क्रियाशील रहँदै आएको छु । वास्तवमा आज नेपालका हरेक पार्टीभित्र ‘पार्टीभन्दा देश ठूलो हो, पार्टीको स्वार्थ गौण हो–देशको स्वार्थ सर्वाेपरी हो’ भन्ने मान्यता फैलाउन आवश्यक छ । यस्तो मान्यता फैलाउन नयाँ शक्ति पार्टीले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्छ । पार्टी भनेको देशको सेवाका लागि सिर्जना गरिएको एउटा औजार मात्र हो र पार्टीका हरेक सदस्य देशभक्त हुनुपर्छ । हरेक राजनीतिकर्मीको पहिलो शर्त देशभक्ति हो भन्ने हाम्रो पार्टीको मान्यता हो र यही मान्यता अनुसार पार्टीका सबै नेता कार्यकर्ता क्रियाशील हुनुपर्छ भन्ने मेरो मान्यता छ र म पनि त्यही मान्यताले क्रियाशील रहेको छु भनेर जनता माझ भन्न पाउँदा मलाई गर्वको अनुभूति हुन्छ ।

भारतीय हस्तक्षेपको विरोध गरौं

नेपाललाई हिंसा र अस्थिरतामा लैजाने दुष्प्रयास निरन्तर हुँदै आएको छ र यस्तो प्रयास विरुद्ध नयाँ शक्ति पार्टीले खबरदारी र अगुवाई गर्नुपर्छ । विगतमा संविधान जारी गर्न नदिन भारतले गरेको हस्तक्षेप हामीले भोगिसकेका छौं । संविधान जारी भइसकेपछि भारतले लगाएको नाकावन्दी पनि हामीले झेलिसकेका छौं । भारतको हस्तक्षेपकारी नीति र नियत विरुद्ध नयाँ शक्ति पार्टीले अग्रपंक्तिमा उभिएर खबरदारी गर्न आवश्यक छ । भारत हाम्रो छिमेकी हो र उसँग हाम्रो मित्रवत सम्बन्ध हुन आवश्यक छ । यस्तो मित्रवत सम्बन्ध समानतामा आधारित हुनुपर्छ ।

आपसी सम्बन्धमा भारतले आफ्नो हित हेर्नु स्वाभाविक हो तर नेपालमा सरकारमा रहेका पात्रहरुले राष्ट्रिय हित हेर्न र राष्ट्रिय हितको रक्षा गर्न नसकिरहेको बरु विदेशीकै हित गर्दै आएको तथ्य हाम्रा सामु छर्लङग छ । भारतले पहिले ‘सबैलाई समेटेर संविधान जारी गर’ भन्ने आदेश दियो । भएभरका शक्तिलाई समेटेर भारत स्वयंकै संविधान पनि जारी भएको थिएन र अहिले पनि भारतको संविधान सर्वस्वीकार्य छैन । विश्वमा कुनै पनि देशका संविधान सर्वस्वीकार्य हुन सकेका छैनन् । फलामे कम्युनिष्ट शासन भएका उत्तर कोरिया जस्ता देशमा मात्र सर्वस्वीकार्य संविधान सम्भव हुन्छ । र, त्यस्तो सर्वस्वीकार्यता बन्दूकको बलमा बनाइएको हुन्छ ।

सर्वस्वीकार्य खोज्नु लोकतन्त्र विरोधी

नेपाल जस्तो खुल्ला र लोकतान्त्रिक मुलुकमा सर्वस्वीकार्य केही हुन सक्दैन । बास्तवमा सर्वस्वीकार्यता लोकतन्त्र विरोधी अवधारणा हो । लोकतन्त्रमा फरक मत भइहाल्छ र फरक मत नै लोकतन्त्रको सौन्दर्य हो । सबैलाई समेटेर चुनाव गर्ने अवधारणा पनि सम्भव छैन । नेपालमा आजसम्म कुनै पनि चुनावले सबैलाई समेट्न सकेको छैन । कुनै न कुनै शक्ति बाहिर भएका छन् । अबका चुनावमा पनि कुनै शक्ति बाहिर बस्छन् भने उनीहरुलाई चुनावमा सहभागी गराउन अधिकतम प्रयाश गर्नैपर्छ । तर, उनीहरुलाई सहभागी गराउने नाममा चुनाव नै नगराउने, चुनाव रोक्ने भन्ने हुन सक्दैन ।उनीहरुलाई पर्खिने नाममा नयाँ शक्ति पार्टी पनि चुनावमा सहभागी नहुने कार्य मान्य हुन सक्दैन, निशर्त चुनावमा सहभागी बन्नुपर्छ । चुनाव भनेको हारजितको विषय मात्र होइन, लोकतान्त्रिक निर्वाचनमा सहभागी सबैले जित्छन् । लोकतन्त्रमा चुनाव हुनु भनेको लोकतन्त्रवादीहरुको स्वत विजय हो । उम्मेदवारको विजय प्राविधिक विषय मात्र हो । हो, निर्वाचनको निष्पक्षतामा भने खबरदारी गर्नैपर्छ ।
मलाई होइन बाबुरामलाई कारवाही गर

नयाँ संविधान निर्माण भएपछि मात्र नयाँ शक्ति पार्टी गठन भएको हो । नयाँ शक्ति पार्टीले यो संविधान स्वीकार गरेको छ । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक अधिकारहरु कार्यान्वयनमा ल्याउन सघाउ पुराउनु तथा माग गर्नु नै नयाँ शक्ति पार्टीको कर्तब्य हो । हिजो यो संविधान अस्वीकार गरेर देशलाई नाकावन्दी लगाउने समूहहरुसँग नयाँ शक्तिको कुनै पनि प्रकारको सहकार्य गर्न हुँदैन । उनीहरुले हिजोको गल्तीमा माफी माग्नुपर्छ, आफूलाई सच्याउनुपर्छ तबमात्र सहकार्य सम्भव छ ।

हिजो संविधानसभा कालमा विभिन्न पार्टी तथा समूहहरुले विभिन्न माग उठाएका थिए । हरेक व्यक्तिले माग राखेका थिए । संविधान जारी भएसँगै हिजो कसको के विचार थियो भन्ने गौण भइसकेको छ, हिजोका मागहरुको सान्दर्भिकता समाप्त भइसकेको छ । सबै शक्तिहरु यो संविधानको घेरामा बाँधिएका छन् । हिजो जातीय कोणबाट पनि विभिन्न माग उठेका थिए । नयाँ संविधान जारी भइसकेपछि संविधानको अधिकतम उपयोग गर्नु नै आजको आवश्यकता हो, हिजो जातीय कोणबाट उठेका मागहरुलाई बोकेर हिँड्नुको अब औचित्य छैन ।

संविधानले प्रदान गरेको समावेशी अवधारणालाई कार्यान्वयनमा लैजानु नै देश र जनताको आवश्यकता हो र यसैमा सबै जातीय समुदायहरुको पनि हित छ भन्ने अवधारणासाथ नयाँ शक्ति पार्टी गठन भएको हो । यो अवधारणा विपरित पार्टी संयोजक डा. बाबुराम भट्टराई तथा अन्य केही नेताहरु चलिरहनुभएको देखिँदैछ र जनस्तरमा त्यस्तो गुनासो पनि आइरहेको छ ।

कारवाही नै गर्ने हो भने पार्टी अवधारणा अनुसार चल्ने तथा देश र जनताको चाहना अनुसार बोल्ने मलाई होइन, पार्टी स्थापनाको अवधारणा विपरित चलिरहनुभएका पार्टी संयोजक डा. बाबुराम भट्टराई लगायतलाई पो कारवाही गर्नुपर्ने हो । यद्यपि, पार्टीको मान्यता विपरित फरक मत राखेकै कारणले डा. भट्टराईलाई कारवाही गर्न भने हुन्न, किनभने फरक मत राख्ने उहाँको अधिकारको सम्मान गरिनुपर्छ ।

जातिवादीसँग टाढै बसौं

नयाँ शक्तिको मुख्य मुद्दा आर्थिक समृद्धि हो । आर्थिक समृद्धिको हाम्रो मुद्दालाई ओझेलमा पार्न, यो नारा स्थापित हुन नदिन विभिन्न खाले हतकण्डा अपनाइन सक्छ । देश र जनताले आज खोजेको आर्थिक समृद्धि हो, जातीय क्षेत्रीय विभाजन होइन ।आर्थिक समृद्धिको मूल मुद्दालाई ओझेल पार्ने गरी कुनै पनि अवधारणालाई पार्टीले बढावा दिन हुँदैन । आर्थिक समृद्धिलाई गौण मानेर जातीय क्षेत्रीय विषयलाई प्रमुख मान्ने, भारतीय हस्तक्षेपको चुईंक्क विरोध गर्न नसक्ने पार्टीहरुसँग नयाँ शक्ति तथा यसका नेता कार्यकर्ताहरु टाढै बस्नुपर्छ ।

स्पष्टिकरण सोध्नुभएकोमा पुन धन्यवाद दिँदै आगामी दिनमा राष्ट्रहितलाई सर्वाेपारी मानेर देश र जनतालाई केन्द्रमा राखेर, राष्ट्रिय एकता, शान्ति र सदभावको पक्षमा उभिँदै पार्टीमा अझै धेरै क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्