धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले



गौशाला, २ चैत । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।

जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् ।

धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् ।

धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् ।

विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् ।

सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् ।

कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका थिए ।

बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् ।

बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् ।

जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पु¥याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताउनुभयो ।

दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्