केन्द्र परिवर्तनपछि तालाबन्दी



हेटौंडा,(नेस)

सरकारले स्थानीय तह र केन्द्रसहित गाउँपालिका र नगरपालिको नाम र केन्द्र राजपत्रमा प्रकाशन भएपछि पूर्वी मकवानपुरको बाग्मती र बकैया गाउँपालिकामा तालाबन्दी गरिएको छ । हाँडीखोलाबासी आन्दोलित भएका छन् । मकवानपुर, स्थानीय विकास मन्त्री कमल थापाको गृह जिल्ला हो ।

सीमा निर्धारण आयोगले सिफारिस गरेभन्दा स्थान परिवर्तन गरेर सरकारले उक्त गाउँपालिकाको केन्द्र परिवर्तन गरेको भन्दै स्थानीयले साविक गाविस भवनमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीको विषयमा जानकारी दिँदै साविक छतिवन गाविस सचिव शिवराम बोहोराले राजपत्रमा प्रकाशन भएको स्थानबाट नै केन्द्र सञ्चालन गर्ने तयारी भएको र बकैया गाउँपालिकाको मंगलबार उद्घाटन हुने बताए ।

सीमा निर्धारण आयोगले बकैया गाउँपालिकाको केन्द्र साविक छतिवन गाविस वडा नम्बर–२, हात्तीसँुडेमा सिफारिस गरेको थियो । तर, राजपत्रमा हाल छतिवन गाविसकै वडा नं ६ मा केन्द्र तोकिएको छ ।

पूर्वी मकवानपुरकै बाग्मती गाउँपालिकाअन्तर्गत् केन्द्र परिवर्तन गरिएको भन्दै स्थानीयले गाउँपालिकाको केन्द्रमा तालाबन्दी गरेका छन् ।

उनीहरुले फापरबारी–२ मा राख्ने भनिएको केन्द्र पुरानै फापरबारी गाविस भवनमा राखिने भएपछि आन्दोलन गरिएको स्थानीय जयबहादुर वाइबाले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका सूचना अधिकृत किसान न्यौपानेले सरकारले अध्ययन र अनुसन्धान गरेर केही गाउँपालिकको केन्द्र साविक गाविसमा राखेको बताए ।

आफूले पनि यस विषयमा मन्त्रालयमा बुझेको बताउँदै उनले भौतिक संरचना तथा सेवा दिँदा सहज ठाउँका कारण देशभर केही गाउँपालिकामा केन्द्र परिवर्तन भएको उनको भनाइ छ ।
स्थानीय निकाय निर्वाचनबाट प्राप्त जनादेशले पुनः गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नसक्ने हुँदा केन्द्रका विषयमा आन्दोलन गर्न नपर्ने उनको भनाइे छ ।
पश्चिम मकवानपुरको हाँडीखोलाबासी पनि मनहरीलाई केन्द्र तोकेको भन्दै आन्दोलनको तयारीमा रहेको स्थानीयले बताएका छन् । जनमतबाट सिफारिस एउटा र सीमा निर्धारण आयोगले पठाएको पत्रमा अर्कै गाउँपालिका भएर आएपछि मकवानपुरका विभिन्न गाविसमा स्थानीयले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपालगायत दलहरुले संयुक्तरुपमा तालाबन्दी गरेको स्थानीयले जानकारी दिए ।

भौतिक पूर्वाधार नभएको भन्दै स्थान परिवर्तन गरिएपछि स्थानीयले भाडामा लिएर भए पनि काम अघि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्