हात्तीपाइलेको औषधि सेवन अभियान



काठमाडौं, (नेस)
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले हात्तीपाइले रोगको औषधिसेवन आम रूपमा गराउने जानकारी दिएको छ।

सोमबार भएको पत्रकार सम्मेलनमा औषधि खुवाइने कार्यक्रम दुई चरणमा बाँडिने जानकारी दिँदै ईडीसीडीका डा. भेषराज पोखरेलले चैत ५, ६ र ७ गते भोजपुर, पाँचथर, दाङ, बाँके, अछाम, बाजुरा गरी २५ जिल्लामा र चैत १७, १८ र १९ गते झापा, मोरङ, सुनसरी गरी ५ जिल्लामा औषधि खुवाउने कार्यक्रम रहेको बताउनुभयो। यो अभियान राम्रो हुने बताउँदै डा. पोखरेलले सन् २०१३ मा ६१ जिल्लामा गरिएको कार्यक्रम अहिले ३० जिल्लामा झरेको दाबी गरे। धेरैजसो मानिसले औषधि लगेर नखाने गरेकाले यो औषधिको प्रभावकारिता बढाउन डट्स (डिरेक्ट्ली अबजब्र्ड ट्रिटमेन्ट) विधि अपनाइने जानकारी दिनुभयो।

ईडीसीडीका निर्देशक डा. भीम आचार्यले हात्तीपाइले रोगको औषधि खाने र त्यसको असरबारे केही गलत धारणा रहेकाले मिडियाले पनि राम्रो भूमिका खेलिदिनुपर्ने आग्रह गर्नुभयो।

उहाँले यो अभियान तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकबाट सम्पन्न हुने जानकारी दिनुभयो। यस अभियानमा खुवाइने दुईथरी औषधिले रोगको उपचार हुनुको साथसाथै रोग लाग्नबाटसमेत बचाउने हुनाले यो औषधिहरू सेवन गर्नु आवश्यक रहेको दाबी गर्नुभयो।

हात्तीपाइले रोग परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। हात्तीपाइलेको औषधि २ वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारेरोगी तथा सिकिस्त बिरामीहरूले खानुहुँदैन। औषधिको सेवन गरेपछि हात्तीपाइलेको परजीवी शरीरमा भएमा कसैकसैमा ज्वरो आएजस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने हुन्छ तर यी असर आफैं केही समयमा ठीक हुने र नआत्तिन चिकित्सकहरूको सुझाव रहेको छ। स्वास्थ्य सेवा विभागले आम औषधि सेवन गराउने कार्यक्रम सन् २००३ बाट नै शुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्