सामान्यले दियो स्थानीय विकास मन्त्रालयलाई कर्मचारी



काठमाडौं, (नेस)
स्थानीय तहमा खटाउनका लागि सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास मन्त्रालयलाई थप ३ सय ४८ कर्मचारी उपलब्ध गराएको छ।

निर्वाचन आयोगले हाल कायम रहेका ७ सय ४४ वटा स्थानीय तहमा आगामी चैत ३ गतेभित्रमा तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएलगत्तै सामान्यले सो व्यवस्था गरेको हो।

आयोगले स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा⁄समूहका कर्मचारी खटाउने र सो सम्भव नभएमा अन्य उपयुक्त सेवा⁄समूहबाट कर्मचारी व्यवस्थापन गर्न पनि सामान्य र स्थानीय मन्त्रालयलाई आग्रह गरेको थियो।

सोहीअनुरूप सामान्यले मन्त्रालयले लोकसेवा आयोगबाट अधिकृत तह पास भएर तालिममा रहेका ३ जना सहसचिव, ७५ जना उपसचिव, २ सय ७० जना अधिकृत र उपलब्ध गराएको हो। मन्त्रालयले आइतबार स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर पहिलो चरणमा ३ सय ४८ कर्मचारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। बाँकी कर्मचारी आवश्यकताअनुसार उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्थानीय तह कार्यान्वयनका लागि आवश्यक पर्न सक्ने सुब्बा तहको कर्मचारी उपलब्ध गराउनेबारे समेत गृहकार्य गरिरहेको छ। स्थानीय विकास मन्त्रालयसँग सुब्बा तहका कति कर्मचारी छन् र कति थप आवश्यक पर्छ भन्ने निश्चित भएपछि थप कर्मचारी उपलब्ध गराउने सामान्यले प्रशासन मन्त्रालयले जनाएको छ। खरदार तहको कर्मचारीको संख्या भने निकै न्यून रहेकाले अहिले नै उपलब्ध गराउन नसक्ने मन्त्रालयले जनाएको छ। स्थानीय तह कार्यान्वयनका लागि २ सय उपसचिव आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। गाउँपालिकामा शाखा अधिकृत कार्यकारी अधिकृत हुनेछन्।

स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृतको जिम्मेजारी दिने तयारी गरेको छ।

यसअघि गाविसमा सुब्बा वा खरिदार तहका कर्मचारी गाविस सचिवको जिम्मेवारीमा हुन्थे। यसअघिका गाविसमा सचिव रहेका कर्मचारीलाई वडा सचिव बनाएर काममा खटाउने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया दिनुहोस्