हावाहुरीको शुरूसँगै वन–जंगलमा डढेलो



नेपाल समाचारपत्र
उदयपुर
गर्मीयाम र हावाहुरी शुरू भएलगत्तै उदयपुरका अधिकांश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा व्यापक डढेलो लागेको छ।

डढेलोका कारण प्राकृतिक सुन्दरता र जैविक विविधतामा मात्र असर पुगेको छैन करौडौं मूल्य बाराबरको धन–सम्पत्तिसमेत जलेर नष्ट भएको स्थानीयहरूले बताएका छन्। डढेलोका कारण जंगल आसपसमा रहेका घर–बस्तीहरू उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।

एक साताअघिबाट शुरू भएको डढेलो बढ्दै जाँदा जंगलनजिक घर हुने स्थानीय रातभर जागा बसी केराको पातमा पानी लिएर हावा नचलिदियोस् भनेर कामना गर्दै बस्न बाध्य छन्। डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वनहरूले प्रयास गरे पनि जिल्ला सदरमुकामदेखि पूर्वतर्फको राष्ट्रिय वन र सामुदायिक वनको अधिकांश क्षेत्रमा डढेलो फैलिएको सहायक वन अधिकृत लालबाबु यादयले बताउनुभयो।

डढेलो नियन्त्रणका लागि अन्य क्षेत्रसँग सहकार्य गर्दै वन कार्यालयको पूरै टिम र सामुदायिक वनहरूलाई परिचालन गरिएको केही दिनअघि मात्र जिल्ला आउनुभएका जिल्ला वन अधिकृत धनञ्जय पौड्याले बताउनुभयो। डढेलोका कारण जंगलबीचबाट सञ्चालित बाटोहरूमा यातायात र पैदल हिँड्ने यात्रु हिँड्न छाडेका छन्। डढेलोले जंगली जनावर चराचुरु·ी, जडीबुटी, काठदाउरा जलेर नष्ट भएको वन कार्यालयले जनाएको छ।

गत वर्ष आएको हावाहुरीका कारण उदयपुरको राट्रिय वन र सामुदायिक वन क्षेत्रमा ५ लाख क्युबिक फिटबढी रुखहरू ढेर नष्ट भए पनि वन कार्यालय वन विभागले समयमा निर्णय दिन नसक्दा जंगल क्षेत्रमा रहेको उक्त वन पौदावारसमेत केही मात्रमा जलेको जनाइएको छ। करिव १५ वर्षअघिदेखि विभिन्न वन क्षेत्रमा रहेको काठ दाउराहरू सुरक्षित स्थानमा संकलन गर्न सम्बन्धित निकायको इजाजत र अन्य समस्या भएका कारण जंगलमै रहेको त्यस्तो काठ दाउरा पनि केही मात्रमा जलेको छ।

वन मन्त्रालय वन विभाग र जिल्ला वन कार्यालयहरूले डढेलोविरुद्धको सप्ताह मनाइरहँदा सोही डढेलोका कारण उदयपुरमा स्थानीय र राज्यको करोडौं रुपियाँ बराबरको सम्पत्ति खरानीमा परिणत हुने क्रममा छ।

वन मन्त्रालयदेखि जिल्ला वन कार्यालयसम्म हुने आर्थिक लेनदेन र कमिसनका कारण दशकौंदेखि जंगलमा ढलेर रहेका वन पौदार समयमै सुरक्षित स्थानमा निकाल्न कठिनाई हुँदा खरानी भएर नष्ट भएको हेर्नुपरेको बनकर्मीहरूको गुनासो छ। डढेलो नियन्त्रणमा नआए अझै धेरै नोक्सानी व्यहोनुपर्ने बताउनुहुँदै यसको जवाफ ढिलासुस्ती आलटाल गर्ने वन सम्बद्ध निकायहरूले दिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष नारायणबहादुर बुर्जा मगरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्