प्रचण्ड–ओली भेट संशोधन विधेयक पारित गरेर निर्वाचनमा जाऔंः प्रचण्ड



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ।

संविधान संशोधन विधेयक पारित गर्दा मधेसी मोर्चा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताउनुहुँदै उहाँले लकचता अपनाएर भए पनि विधेयक पारित गर्न आग्रह गर्नुभएको थियो। संविधान संशोधन विधेयक पारित नभए मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन आज (मंगलबार) बाट स्वतः फिर्ता हुने गरी ७ दिने अल्टिमेटम बुझाएका बेला प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा सरकार तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मधेसको समस्या समाधान गर्न ओलीलाई गम्भीर बन्न आग्रह गर्नुभएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘सबैले अडान छोडेर संविधान संशोधन विधेयक पारित गरौं, मधेसको समस्या समाधान गर्न जिम्मेवार बनिदिनुपर्यो।’

जवाफमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नगर्ने बताउनुभएको थियो। आचार्यका अनुसार ओलीले सरकारले संविधान संशोधनतिर भन्दा पनि घोषणा गरेको स्थानीय तहको निर्वाचनमा बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको थियो। ओलीले संविधान संशोधन विधेयक पारित गर्न नसक्ने पुरानै अडान दोहोर्याउनुभएको थियो। मेची–महाकाली अभियानको क्रममा रहनुभएका अध्यक्ष अ‍ोली मंगलबार अकस्मात् काठमाडौं फर्किएर प्रचण्डसँग भेट गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्