चिनियाँ रक्षामन्त्री नेपाल आउँदै



काठमाडौं, (नेस)
चिनियाँ रक्षामन्त्री चाङ वाङ क्यु तीनदिने नेपाल भ्रमणका लागि चैत ११ गते नेपाल आउनुहुने भएको छ।
रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा नेपाल आउन लाग्नुभएका चाङले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतका विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्नुहुने भएको छ।

चीनको स्टेट काउन्सिलरसमेत रहनुभएका चाङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सम्हालेपछि चीनबाट हुनलागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

नेपाल र चीनबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका बारेमा समेत भ्रमणका बेला छलफल हुने रक्षा मन्त्रालयले जानकारी दिएको छ।

उहाँको भ्रमण चैत १० गतेबाट हुने भनिए पनि प्रधानमन्त्री प्रचण्ड चैत १० गते नै चीन जाने लागभग निश्चित भएका कारण उहाँले नेपाल भ्रमण एक दिन पर सरेको सैनिक मुख्यालयले जनाएको छ।

चीनको शक्तिशाली नेताका सूचीमा तेस्रो नम्बरमा रहनुभएका चाङको भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्