कुलेखानी तेस्रो चैतभित्र



हेटौंडा,(नेस)÷ सरकारी लगानीमा निर्माण भइरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न नयाँ प्रतिवद्धता आएको छ ।

आयोजना प्रमुख र चिनियाँ निर्माण कम्पनीले ऊर्जामन्त्री समक्ष चैतभित्र निर्माण सक्ने प्रतिवद्धता जनाएका हुन् । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएपछि प्रमुख सुभासकुमार मिश्र र इलेक्ट्रो मेकानिकलको ठेक्का पाएको चाइनिज कम्पनी जिज्याङ जिञ्लुङका प्रतिनिधिले चैत महिनासम्म निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएका हुन् ।

आयोजनाको सिभिल वर्क ९७ प्रतिशत सम्पन्न भइसकेको छ । ‘इलेक्ट्रो मेकानिकलको ढिलासुस्तीले सिभिल वर्कको काम नसकिएको हो,’ आयोजना प्रमुख मिश्रले भने–चिनियाँहरु यहाँ बस्दैनन्, काम नियमितढंगले हुँदैन ।

इलेक्ट्रो मेकानिकलले पुस १६ गते सम्पन्न गर्ने गरी विद्युत् प्राधिकरणले पाँचौं पटक म्याद थप गरेको थियो । इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले कुलेखानी–३ पाँचौं पटक थप गरिएको समयमा पनि सम्पन्न नहुने भएको हो । पाँचौं पटक म्याद थप गर्दा पनि इलेक्ट्रो मेकानिकलको निर्माण कम्पनीले सुस्तगतिमा काम गरिरहेको छ ।

‘मन्त्रीसमक्ष गरेको लिखित प्रतिवद्धता पूरा गर्न ठेकदार कम्पनीका तर्फबाट चिनियाँ आएर अनुगमन गर्नुपर्छ,’ आयोजना प्रमुख मिश्रले भने–हुलासले विद्युत्गृहमा जडान गर्ने केही उपकरण उत्पादन गरिरहेको छ, बाँकी चीनबाट आयात गर्नुपर्छ । सिभिल वर्कको ठेक्का पाएको निर्माण कम्पनीले विद्युत्गृह निर्माण गरिसकेको छ ।

विद्युत् गृहभित्र टर्वाइन, जेनेरेटर, कन्ट्रोलर उपकरण, कोलिङ प्रणाली जडान गर्नुपर्छ । विद्यत्गृहभित्र जडान गर्नुपर्ने अधिकांश उपकरण चीनबाट आउने क्रम छ । ‘इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीका कारण कुलेखानी–३ को निर्माण कार्य ढिला भएको आयोजनाका एक प्राविधिकले उक्त कम्पनीलाई १० प्रतिशत हर्जाना रकम असुल गरिसकेको छ ।

विद्युत् प्राधिकरणको जेठ ६ गतेको बैठकले कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य वैशाख पहिलो साता पनि सम्पन्न नभएकाले पाँचौं पटक म्याद थप गरेको थियो । चौथो पटक थपिएको समय अवधिमा आयोजनाको निर्माण कार्य सम्पन्न नभएकाले सात महिना म्याद थप गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

वैशाख ६ गतेसम्म आयोजनाको निर्माण कार्य सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले चौथो पटक म्याद थप गरेको थियो । उक्त अवधिमा पनि काम नसकेपछि प्राधिकरणले सन् २०१६ डिसेम्बर ३० तारेखसम्म म्याद थप गरेको थियो । प्राधिकरणले यस अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । उक्त अवधिमा पनि सम्पन्न नहुने भएकाले आगामी चैत मसान्तसम्म निर्माण कार्य सक्ने लिखित प्रतिवद्धता जनाइएको हो ।

इलेक्ट्रो मेकानिकलतर्फ ६० प्रतिशत पनि काम सकिएको छैन । सिभिल वर्कतर्फ ९७ प्रतिशत सकिएको छ । आयोजनाको ७७ प्रतिशत काम सकिएको छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ ।
२०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । उक्त अवधिमा काम नसेकपछि पहिलो पटक ३० महिना म्याद थपिएको थियो । उक्त समयमा पनि काम सम्पन्न नभएपछि ९ महिना म्याद थप गरियो ।

तेस्रो ३ महिना र चौथो अर्थात् २०१५ अक्टोबर १५ बाट २०१६ अप्रिल १८ सम्म ६ महिना म्याद गरिएको थियो । चौथो पटक थप गरिएको समयमा आयोजना सम्पन्न नभएपछि प्राधिकरणले ८ महिना अर्थात् २०१६ डिसेम्बरसम्म म्याद थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्