संविधान संशोधन विधेयक पारित हुन्छः देउवा



नेपाल समाचारपत्र
काठमाडौं
त्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच संविधान संशोधन विधेयक पारित गराउने विषयमा छलफल भएको छ। मधेसी मोर्चाले सरकारलाई सात दिनको अल्टिमेटम सकिन एक दिन बाँकी रहँदा देउवा र ठाकुरबीच छलफल भएको हो। सभापति देउवाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय स्थगित गर्न आग्रह गर्दै ठाकुरसँग संविधान संशोधन विधेयक पारित गर्ने विश्वास दिलाउनुभएको थियो।

संविधान संशोधनका लागि दुई तिहाइ बहुमत पुर्याउने कार्यमा लागेका छौं, मोर्चाले हतारमा निर्णय लिनुभएन देउवाले ठाकुरसँग आग्रह गर्नुभएको थियो। देउवाले स्थानीय तहको संख्या अझै बढाउन तयार रहेको बताउँदै चुनावमा सहभागी हुन आग्रह गरेको तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले बताउनुभयो। संविधान संशोधन विधेयक पारित गरेर देखाउन आफूले देउवासँग आग्रह गरेको बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संविधान संशोधन विधेयक पारित गरेर हाम्रो माग पूरा भए सरकारलाई दिएको समर्थन कामय रहन्छ। संविधान संशोधन विधेयक पारित नभएसम्म स्थानीय तहको निर्वाचनको मिति स्थगित गर्नुपर्ने मोर्चाको माग कायमै रहेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले हत्या हिंसाले समस्या समाधान नहुने भएकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

‘देउवाले स्थानीय तहको संख्या बढाउँछु भन्नुभएको छ कति बढाउने भन्नुभएन, उहाँले भन्नुभयो– ‘हाम्रो पाँच बुँदे माग पूरा नभए हामी संघर्षमा जान्छौं। मधेसी मोर्चाले दिएको सात दिने अल्टिमेटम चैत १ गते समाप्त हुँदै छ। त्यसै गरी स्थानीय तहको निर्वाचन र संविधान संशोधन विधेयकका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपाका अध्यक्ष कमल थापाबीच छलफल भएको छ। आइताबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले थापालाई संविधान संशोधन विधेयक पारित गराउन भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको थियो।

तर उप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री थापाले यथास्थितिमा संविधान संशोधन विधेयक पारित गर्नका लागि पार्टीमा पुन छलफल गर्नुपर्ने बताउनुभएको थियो। तीन दलबीच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्