कालिञ्चोकमा भारी हिमपात, जनजीवन प्रभावित



चिरञ्जीवी मास्के, दोलखा
दुई दिनदेखि लगातार हिमपात भएपछि धार्मिक पर्यटकीयस्थल कालिञ्चोकको जनजीवन प्रभावित भएको छ। कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका अधिकांश होटल व्यवसायी सदरमुकाम झरेका छन्।

शनिबार बिहानबाट शुरु भएको हिमपात आइतबार रातिसम्म पनि जारी रहेकाले जनजीवन प्रभावित भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए। ‘कुरी आसपास २⁄३ फिट हिउँ जमेको छ, चिसोका कारण बस्न र पानीको समेत समस्या छ –शर्पाले भने। लगातारको हिमपातको कारण साना तथा ठूला सवारी साधन देउरालीभन्दा केही माथिसम्म मात्र जान सकेका छन्। आइतबार दिउँसो मौसममा सुधार भएपछि केही पर्यटक कालिञ्चोक पुगेको भए पनि कुरीमा बस्ने अवस्था नभएपछि उनीहरू मुश्किलले सदरमुकाम चरिकोट नै फर्किएका थिए।

आइतबार बिहानबाट टेलिफोन सम्पर्कसमेत नभएपछि कालिञ्चोकमा कति हिमपात भएको छ भन्ने जानकारी लिन कठिन रहेको प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए। कालिञ्चोकमा लगातार हिमपात भएको कारण बस्न कठिन भएपछि सदरमुकाम चरिकोट झरेका स्थानीय व्यवसायी चन्द्र तमाङ मौसममा सुधार नभई जान सक्ने अवस्था नभएको बताउँछन्। कालिञ्चोकको प्रवेशद्वार कुरीमा २४ वटा सुविधासम्पन्न होटल रहेकोमा हिमपातका कारण अधिकांश होटलहरू बन्द अवस्थामा रहेको तमाङले बताए।

३ हजार ८ सय ४२ मिटर उचाइको कालिञ्चोक धार्मिक एवं पर्यटकीय केन्द्रको रूपमा रहेको छ। कालिञ्चोक मन्दिर दर्शन गर्न दैनिक ५ सयभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक पुग्ने गरेका छन्। शुक्रबार र शनिबार भने १ हजारभन्दा बढी पर्यटक कालिञ्चोक पुग्ने गरेको स्थानीय व्यवसायीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्