लगानीको वातावरण बनाउन आग्रह



शेरबहादुर थापा, सुर्खेत
उद्योगी⁄व्यवसायीहरूले राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरेका छन्। सरकारले औद्योगिक विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै व्यवसायीले राजनीतिक परिवर्तनले मात्र मुलुक बन्न नसक्ने धारणा राखेका थिए।

सुर्खेत उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३३औं साधारणसभाका वक्ताहरूले आर्थिक विकासबिना मुलुकका समृद्धि सम्भव नभएकाले त्यसका लागि सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने सुझाव दिए। संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतको साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले बजेट विनियोजन गरे पनि सम्भाव्यता अध्ययनमा ढिलाई भइरहेको बताउनुभयो। ‘संघले सुर्खेतमा लगानी भित्र्याउन लगानी वर्ष घोषणा गरेर बाह्य लगानीकर्तालाई आमन्त्रण गरिरहेको छ।’ उहाँले भन्नुभयो–‘तर, यहाँ क्रियाशील राजनीतिक दलले उल्टै लगानीकर्तालाई निरुत्साहित पार्ने काम गरिरहेका छन्। सरकारले पनि आवश्यक नीति निर्माण र सुरक्षा अवलम्बनमा ढिलाई गरेको छ।’

चालू आवमा सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको छ। भौगोलिक विकटता, कमजोर पूर्वाधारजस्ता कारणले ६ नम्बर प्रदेश कम लगानीको क्षेत्र मानिन्छ। राजनीतिक अस्थिरताका कारण विभिन्न लगानीका सम्भावना आफूहरूले गुमाउँदै गएको मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो। उहाँले माथिल्लो कर्णाली जलविद्युत् आयोजना, चौकुने सिमेन्ट, क्षेत्रीय विमानस्थल निर्माणमा ढिलाई गर्न नहुने धारणा राख्नुभयो। ठूला आयोजना कार्यान्वयनका लागि निजी क्षेत्रबाट आफूहरूले सरकार, सम्बन्धित पक्षलाई खबरदारी गरिरहेको उहाँको भनाइ थियो।

मध्यपश्चिम क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेलले सुर्खेतलाई प्रदेश नम्बर ६ कै लगानीको मुख्य गन्तव्य बनाउन आग्रह गर्नुभयो। यसको लागि पहलकदमी स्थानीय व्यवसायीले नै गर्नुपर्ने उहाँको सुझाव छ। ‘जाजरकोटको पत्थर, दैलेखको धार्मिक पयर्टन, कर्णालीको जडीबुटीलाई उपयोग गर्नसके प्रदेश समृद्ध हुन्छ।’ प्रशासक पौडेलले भन्नुभयो–‘यसका लागि लगानीमैत्री राजनीतिक वातावरणको जरुरी छ। व्यवसायीले सरकारलाई लगानीमैत्री वातावरण निर्माण गर्नमा सघाउनुपर्दछ।’ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले स्वदेशी उत्पादनको प्रवद्र्धन हुन नसकेको स्वीकार गर्नुभयो। स्वदेशी उत्पादनको उपयोग बढाउन सके उद्योगीलाई हौसला मिल्ने र थप लगानीको वातावरण सिर्जना हुने उहाँले बताउनुभयो। साधारणसभामा महासंघका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य निरक केसी, मुक्तिश्री सिमेन्ट प्रालिका अरुण सुमार्गीलगायतले धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्