विकासमैत्री राज्यको चाहना



डा. देवीप्रसाद आचार्य
हाम्रो देश प्राकृतिक स्रोत र साधनले सम्पन्न छ। विकासमैत्री जनउत्तरदायी राज्य भएमा यो मुलुकमा विकास गर्न त्यति गाह्रो छैन। जति आजका विकसित देशहरूलाई सम्पन्न हुनको लागि लामो संघर्ष गर्नुपर्यो। यी देशहरूले विकासका लागि नयाँ प्रविधिको आविष्कार गर्न पचासौं वर्ष खर्च गर्नुपर्यो। आवश्यक पूर्वाधारहरूको अनुसन्धान गर्न ठूलो धनराशी खर्च गरे। साथै आजको युगमा आइपुग्न युरोप र अमेरिकाका मुलुकहरूले शताब्दिको अवधि लगाएर सफल भएका हुन्।

अहिले हरेक क्षेत्रको विकास गर्नका लागि रेडिमेड प्रविधिहरू तयार छन्। कृषि क्षेत्रको विकासका लागि बजारमा नयाँ औजार, औषधि, बीउ, विजनलगायतका आधुनिक यन्त्रहरू बनेका छन्। सिँचाइका लागि नहरहरू खन्न डोजरहरू बनेका छन्। बाँध बनाउन पनि आधुनिक मेसिनहरू बनेका छन्। जलस्रोतको विकास गर्न टर्वाइनहरूको आविष्कार भएको छ। विद्युतीकरणका नवीनतम आविष्कारहरू भइसकेका छन्। राजमार्गहरूको निर्माणका लागि चट्टान फुटाउन अणुबमहरू बनेका छन्। यिनीहरूको उचित प्रयोगले देशको हरेक क्षेत्रमा विकास निर्माणका कामहरू गर्न सहज भएको अवस्था छ।

हाम्रो देशमा प्रचुर मात्रामा भएको प्राकृतिक सम्पदा वन, जंगल, जमिन, जल, जडीबुटी र खानीहरूको सदुपयोग गर्न सके देश सम्पन्न हुन्छ। यी क्षेत्रहरूमा विकास गर्नका लागि अहिले नयाँ प्रविधिहरूको विकास भएको छ। स्वरोजगारमैत्री व्यवसाय जस्तै– पशुपालन, माहुरीपालन, रेसमखेती, तरकारीखेती, फलफूलखेती, पुष्पखेती, माछापालन, अदुवा, अलैंची अम्रिसोलगायतका नगदेवालीहरूको विकासका लागि आधुनिक प्रविधि छन्। अत्यधिक उत्पादन दिने बीउ, विजन र मलहरूको साथै सुरक्षित उत्पादनका औषधिहरू तयार छन्। औजारहरूलगायत आधुनिक तरिकाले व्यवसाय गर्नका लागि विधिहरू निर्माण भएका छन्। अहिले विश्वबजारमा प्राप्त प्रविधिलाई प्रयोग मात्र गर्न सके यी क्षेत्रहरूलाई व्यवसायीकरण गर्न सकिन्छ। आयआर्जनको स्रोत बनाउन सकिन्छ। रोजगारीको सिर्जना गर्न सकिन्छ।

राइट दाजुभाइले उडाएको हवाईजहाज आजको अवस्थासम्म आइपुग्न एक शताब्दिको समय लागेको छ। सयौं वर्षको लामो अनुसन्धान र परिश्रम पछाडि मात्र आजका विकसित देशहरूले मालसामान ढुवानी गर्ने आधुनिक कार्गो जहाजहरू बनाए। पानी जहाजहरू बने। ठूल्ठूला मोटर ट्रकहरू बने। नदीमा पुल बनाउन प्रविधिको विकास भयो। पहाड छेडेर सुरुङ बनाउने मेसिनहरू बने। ऊर्जाको आविष्कार सँगसँगै यसबाट सञ्चालन हुने मेसिनहरूको आविष्कार भयो। कम्प्युटरको आविष्कार गरे। कम्प्युटरभित्र जोडिएका वैज्ञानिक र सामाजिक सञ्जालहरूसँग ज्ञान र सीप आदनप्रदान गर्न पाइने भयो। इन्टरनेटलाई गुरू बनाउन सकिने भयो। घरमै बसेर हरेक क्षेत्रका ज्ञान र सीपलाई सिक्न सकिने नेटवर्क बन्यो। गुगललाई गुरू बनाएर हरेक क्षेत्रको जानकारी राख्न सकिने प्राविधिक सुविधा उपलब्ध भयो।

एककाइसौं शताब्दिका उपलब्धिहरूलाई प्रयोग गरेर हामीले हरेक क्षेत्रको विकास गर्न सजिलो भएको छ। यी टेक्नोलोजीको विकास गर्नका लागि आजका विकसित देशहरू अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, फ्रान्स र रुसलाई जस्तो अनुसन्धान गर्न हामीलाई पर्दैन। सबै विकास निर्माणका उपकरणहरू विश्व बजारबाट किनेर जडान मात्र गरे पुग्दछ। यति सजिलो युगमा पनि हाम्रो देश विकासमा पछाडि परेको छ। राज्य देश विकास गर्न असफल भएको छ। आम नागरिकहरू गरिबी, अभाव, पीछडापन र विभेदमा बाँच्न बाध्य छन्। मुलुकको राजनितिक संस्कृति विकासमैत्री छैन।

२००७ को प्रजातन्त्रको उदयदेखि २०७२ सम्मको सङ्घीयता सहितको संविधान बनाउने कालखण्डसम्म आइपुग्दा देशमा तीव्ररूपले राजनितिक परिवर्तनहरू भए। पञ्चायत व्यवस्थाको अन्त्य, प्रजातन्त्रको पुनर्बहाली, र सङ्घीयतासहितको गणतन्त्रसम्म आइपग्दा देशको राजनीतिक व्यवस्था फेरियो तर आर्थिक अवस्था फेरिन सकेन। आम नागरिकहरूका लागि यी राजनीतिक परिवर्तनहरू हात्ती आयो हात्ती आयो फुस्साझैं भए।

संविधानसभाबाट संविधान नबनुञ्जेल संविधान बनेपछि मुलुक तीव्र आर्थिक विकासतर्फ अगाडि बढ्छ भनिएको थियो। अहिले स्थानीय तहको निर्वाचन गरेपछि विकासको लहर सिर्जना हुन्छ भनिएको छ। खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं नेपालमा बनेका कुनै पनि राजनितिक व्यवस्था र संविधानले देश विकास गर्नका लागि छेकेका थिएनन्। दोष राजनीतिक व्यवस्था र संविधानको थिएन। दोष त राज्यको कार्यप्रणालीको हो। अमेरिका २२० वर्षअगाडि बनेको १२ पेजको संविधानको आधारमा विश्वको सम्पन्न र शक्तिशाली बन्यो। इंग्ल्यान्डमा लिखित संविधान नै छैन। यी देशहरूले आर्थिक विकास र नागरिकको समृद्धिको शिखर चुमेर चन्द्रमामा बस्ती बसाउने कसरत गरिरहेका छन्। मंगल ग्रहमा मानवबस्तीको सम्भावनाको खोजी गरिरहेका छन्। तर, हाम्रो देशका राजनीतिक दल र यसका शीर्ष भनिने नेतागणहरू संविधान बनाउँदै, च्यात्दै, जलाउँदै, एकले अर्कोलाई दोषारोपण गर्दै, ईष्र्या गुट, फूट र जुटको गाईजात्रे राजनीतिमा अभ्यस्त भएकाले देश विकास हुन सकेन।

नेपालमा ७ दशकमा भएका राजनीतिक परिवर्तनहरू आम जनताका लागि, कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझैं भयो। केही व्यक्ति र समूहहरूका लागि पञ्चायती व्यवस्था पनि फापेकै थियो। सीमित वर्ग र समूहका लागि प्रजातान्त्रिक व्यवस्था पनि दुहुनो गाई भएको नै थियो। २०६२⁄०६३ पछिको गणतन्त्रमा पनि त्यही इतिहास दोहोरिएको छ। शासक र प्रशासकहरू मोटाएका छन्। भ्रष्टाचार बढिरहेको छ। मुलुकले देश विकास गर्नका लागि राम्रो नेता पाउन सकेन। मुलुक राजनीतिक चक्रव्युहमा फसिरह्यो। नागरिकले राज्यलाई खबरदारी गर्न सकेनौं। लाटो देशको गाँडा तन्नेरी भनेझैं देश बनाउने, भिजन, मिसन र एक्सन नभएको नेतृत्व गणले राज्यको सुविधामा हालीमुहाली गरिरहे। राज्य विकासमैत्री बन्न सकेन।

इतिहास हाम्रो पाठ हो। लोकतन्त्रको विकल्प सुशासनसहितको लोकतन्त्र नै हो। अब देशलाई बदल्न सक्ने भिजन, मिसन र एक्सनसहितको ऋषिमन भएको नेताको खोजी गर्नु हामी सबैको कर्तव्य हो। देशप्रति बेइमान गर्ने, विदेशीको अगाडि लम्पसार हुने, गरिब जनताको नाम भजाएर देशको सुविधामा रजाइँ गर्ने र जनउत्तरदायी बन्न नसक्ने नेतागणहरूलाई पाखा लगाउन जरुरी भइसकेको छ। भष्टाचारको विरोध गरौं। अपराध गर्नेहरूलाई दण्डित गरौं। सामाजिक बहिष्कार गरौं। लोकको डर भएपछि राज्य अनुशासित हुन्छ। सुशासन शुरू हुन्छ। देशले विकासको गति लिन्छ। लोभ, लालशारहितको विकासमैत्री जनउत्तरदायी राज्य आजको आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्