मारिएका पाँच जनाको शव यात्रा



शिवहरिप्रसाद भट्टराई, राजविराज
मालेको मेची–महाकाली अभियानको विरोधका क्रममा गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनाको शव राजविराज ल्याई शनिबार शवयात्रा निकालिएको छ।

प्रहरीको गोली लागेर मृत्यु भएका मलेठका संजन मेहता, पीताम्वर मण्डल, विरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनरदेव यादवको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकिएपछि यहाँ ल्याई शव यात्रा निकालिएको हो।

अन्तिम श्रद्धाञ्जलीका लागि पाँचै जनाको शव ४ घण्टा स्थानीय गजेन्द्र नारायण चौकमा राखिएको थियो। बिहानैदेखि वर्षा भइरहेका बाबजुद श्रद्धाञ्जली व्यक्त गर्न ठूलो संख्यामा मानिसहरू सहभागी थिए।

मृतकको नाम र फोटो टाँसिएको कफिनमा फूलमाला हाल्दै गर्दा अधिकांश रोइरहेका थिए। मृतकका आफन्तको चर्को रुवाइले माहौल झनै हृदयविदारक बनाएको थियो। अन्तिम विदाइका क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–महासचिव जयप्रकाश ठाकुर साथै जिल्ला स्तरीय नेता, कार्यकर्ता, शुभेच्छुक र हजारौंको संख्यामा उपस्थित सर्वसाधारणले फूलमाला अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिएका थिए।

अन्तिम श्रद्धाञ्जलीपश्चात निकालिएको शव यात्रामा सहभागीले वीर शहीद अमर रहुन्, मधेसी एकता जिन्दावादका साथै एमाले र अध्यक्ष केपी ओलीविरुद्ध चर्को नारावाजी गरेका थिए। शवयात्रा राजविराज, हनुमाननगर, भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, कदमाहा, लाहान हुँदैै पुनः राजविराजमै फर्की आफन्तलाई शव बुझाइने तय गरिएको संयुक्त लोकतान्त्रिक मधसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले बताए। आफन्तले घरमा परम्परागत संस्कार सकाएर आइतबारै अन्त्योष्टि गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो।

अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार राजविराज आइपुगेका मधेसीवादी दलका शीर्ष नेताहरूले आइतबार संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गरी भावी रणनीति र कार्यक्रमबारे घोषणा गरिने जानकारी दिएका छन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो जानकारी दिएका हुन्।

‘अहिले हामी सबै शोकाकुल अवस्थामा छौं’, उनले भने– ‘सप्तरीको घटना, गठबन्धन, मोर्चाको अबको रणनीति तथा भावी कार्यक्रमलगायतका सबै विषयमा ठोस निर्णय गरी आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनेछौं।’ उक्त पत्रकार सम्मेलनमा मधेसवादी सबै दलका राष्ट्रिय अध्यक्षहरूको सहभागिता रहने मोर्चाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्