‘मधेसी मोर्चा राजनीतिक संगठन कि आपराधिक गिरोह ?’



काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा राजनीतिक संगठन हो कि आपराधिक गिरोह हो भन्ने प्रश्न गर्नुभएको छ। सप्तरीको घटना सत्ता गठबन्धनको मिलेमतोमा घटाइएको बताउँदै उहाँले मधेसी मोर्चा आपराधिक संगठन हो भने सरकारले कारबाही गर्नुपर्ने बताउनुभएको हो।

मदन भण्डारीको हत्या लुकेर गरिएको बताउनुहुँदै अध्यक्ष ओलीले सरकारका गृहमन्त्रीले अहिले एमाले नेतृत्वको हत्या गर्ने घोषणा नै गरेको बताउनुभयो। ‘सप्तरी घटना सत्ता पक्षबाट भएको छ, मधेसी मोर्चा सत्ता पक्ष हो, नाटक गरेर कुर्सी फेरेर बस्छ, भोट हाल्ने बेलामा कुदेर आउँछ’, उहाँले भन्नुभयो– ‘एमाले मधेसमा आपराधिक घटना घटाउन गएको होइन, आफ्ना कुरा जनतालाई भन्न गएको हो, तर एमालेका विरुद्ध हतियार लिएर सत्ता पक्ष आयो।’
अध्यक्ष ओलीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने नाटक गरिरहेको बताउनुहुँदै जसले समर्थन गराएको छ उसले नभन्दा अल्टिमेटम दिएर बसेको र हुति भए समर्थन फिर्ता लिन पनि मोर्चालाई चुनौती दिनुभयो।

‘यो तमासा हो, सत्ता पक्षको मधेसी मोर्चा नामको संस्था लाज नमानी शान्तिपूर्ण कार्यक्रम गर्न खोज्दा बाटोबाटोमा बम राखिरहेको छ।’ –उहाँले भन्नुभयो। प्रमुख प्रतिपक्ष दल जनताका बीचमा जाँदा खुलेआमरूपमा मार्ने घोषणा गरिएको बताउनुहुँदै मधेसी मोर्चा उत्तेजना फैलाएर मान्छे मार्न लगाउने र त्यसमाथि राजनीति गर्ने मधेसी मोर्चाको पूर्वयोजना भएको ओलीले आरोप लगाउनुभयो।
नेपालको सीमानाभित्र भारतीय सीमा सुरक्षा बलले नेपालीमाथि आक्रमण गरेको घटनाप्रति सरकारले तत्काल भारतसँग कुराकानी गर्नुपर्ने बताउनुहुँदै भारतीय पक्षको गोली लागी नेपालीको मृत्यु हुँदा मधेसी मोर्चाले के गर्न सक्छ भन्ने प्रश्न गर्नुभयो। ‘सरकारले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्छ, विरोध गर्दा मान्छे मार्ने, विरोध गर्दा गोली हाल्ने तरिका ठिक भएन। हामी यसको विरोध गर्छौं।’ –ओलीले भन्नुभयो।

सप्तरी घटनामा चार जनाको ज्यान गएकोप्रति आफ्नो पार्टी दुःखी रहेको बताउनुहुँदै सत्ता पक्षले एमालेमाथि आक्रमण गरेको आरोप लगाउनुभयो। आफ्नो पार्टीले सार्वभौमसत्ता स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सबालमा कुनै सम्झौता नगर्ने बताउनुहुँदै ओलीले भन्नुभयो– ‘हामीले कसैका विरुद्ध जालझेल षड्यन्त्र गरेका छैनौं, हामी हाम्रो देश र जनताको माया गर्छाैं, यसो भन्दा टाउको दुख्नुपर्ने कुनै कारण छैन।’ चुनाव गरायो भने एमालेले जित्छ भन्ने ठूलो चिन्ता सत्ता पक्षलाई रहेको बताउनुहुँदै एमाले उत्तेजनाको राजनीतिभन्दा पनि जिम्मेवारीबोधका साथ अगाडि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्