एक करोड बढीको निजी लगानीमा धर्मशाला



नरेन्द्र केसी,दाङ

दाङको धर्ना धारापानीस्थित पाण्डवेश्वरी मन्दिर परिसरमा एक परिवारले निजी लगानी धर्मशाला निर्माण गरिदिएको छ ।

दाङमा ब्यापारिक प्रतिष्ठा कमाएको श्रेष्ठ परिवारले बुवा भूपेन्द्रवश्वर श्रेष्ठ र आमा बिष्णुकुमारी श्रेष्ठको सम्मानमा एक करोड बढीको लागनीमा धर्मशाला भवन निर्माण गरिदिएको हो । पछिल्लो समयमा विश्वकै त्रिशुल राखिएका कारण दाङको चर्तिक धार्मिकस्थल धारापानी मन्दिरमा धर्मशाला बनेपछि तीर्थालु भक्तजनहरु बढ्न थालेका छन् ।

सेवा नै धर्म हो भन्ने उद्देश्यले ब्यापारबाट आर्जनबाट गरेको सम्पत्तिको केही हिस्सा समाजसेवामा लगाउनुपर्छ भन्ने बुवाआमाको प्रेरणा पाएर नै आफूहरुले बुवाआमाको सम्मानमा धर्मशाला बनाएको छोरा उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘यहाँ भक्तजानको चाप बढेकाले बस्न सुविधा होस् भनेर धर्मशाला बनाइएको हो’– उहाँले भन्नुभयो– ‘यसका लागि हामीले एक करोड बढी खर्च गरेका छौं ।’
२०७२ बैशाखदेखि निर्माण शुरु गरिएको यो धर्मशालाको भर्खरै निर्माण सम्पन्न गरी मन्दिर ब्यवस्थापनलाई हस्तान्तरण पनि गरिएको छ । धर्मशाला बनेपछि मन्दिर दर्शन गरेर बास बस्न आउनेहरुको संख्या बढेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ हेक्टर धार्मिक वनसहितको यो मन्दिर दर्शन गर्न र मन्दिर परिसरमा गाडिएको विश्वकै अग्लो त्रिशुल हेर्दा दैनिक सयौं भक्तजनको भीड लाग्ने गरेको छ । पाँच पाण्डवले ज्योतिर्लिंग स्थापना गरेको विश्वास गरिने यो ठाउँ पछिल्लो समय दाङको चर्चित पर्यटकीयस्थल बन्दै छ ।

सामाजिक सेवामा श्रेष्ठ परिवारको श्रृंखलाबद्ध सहयोग
धारापानी मन्दिरमा एक करोड बढीको लगानीमा धर्मशाला निर्माण गरेको श्रेष्ठ परिवारले सामाजिक सेवामा श्रृंखलाबद्ध सहयोग गर्दै आएको छ । यो परिवारले घोारहीमा गणेश मन्दिर निर्माण गरेको छ भने पद्योदय विद्यालयका लागि २ बिघा जग्गा दान दिएको छ । सो विद्यालयमा ४ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको श्रेष्ठ परिवारका सदस्य ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै यो परिवारले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आपतकालीन उपचार कक्ष स्थापना दिएको छ भने स्वर्गद्वारी मन्दिर प्युठानमा ७५ लाखको लगानीमा धर्मशाला निर्माण गरिसकेको छ । त्यस्तै घोराहीमै ५ करोडको लागनीमा सत्यशाइ केन्द्र स्थापना गरिएको जानकारी दिंदै श्रेष्ठले झिंगौरा आश्रममा अतिथि विश्राम गृह निर्माण गरिरहेको छ ।

यो सबै सामाजिक सेवाको अभियानमा छ दाजुभाइले नै लगानी गर्ने गरेको जेठा दाइ तोरणध्वज श्रेष्ठले जानकारी दिनुभयो । अन्य भाइहरु मीनबहादुर श्रेष्ठ, डा. भरतराज श्रेष्ठ, उत्तमकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र अर्जुन श्रेष्ठमध्ये अर्जुन चलचित्र क्षेत्रमा अभिनेता हुनुहुन्छ भने बरु प्रायः ब्यापारमा संलग्न हुनुहुुन्छ ।

प्रतिक्रिया दिनुहोस्