बन्दका कारण सिरहाको जनजीवन प्रभावित



लहान, २५ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ ।

‘बजार पसल बन्द छन् भन्ने लामो तथा छोटो दुरीका यातायातका साधन पूर्णरुपमा ठप्प छन् । बजार पसल बन्द हुँदा लहानसहित बजार सुनसान देखिन्छ’ ।

मोर्चाका कार्यकर्ताले आज पनि बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यसैबीच बजार बन्द गराउँदै हिँड्ने क्रममा सिरहाको लहानबाट हिजो पक्राउ परेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्तालाई रिहा गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा राखिएका सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत १३ जनालाई रिहा गरेको हो ।

सप्तरीमा चार जनाको मृत्यु हुनेगरी भएको झडप पश्चात लहान बजार बन्द गराउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

दुर्घटनामा गम्भीर घाइते यादवको मृत्यु

यसैगरी पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको वडहरामाल – ५ स्थित सडकमा गएराति मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा आज मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको ज ५ प २२६० नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते वडहरामाल गाविस– ५ का ३५ वर्षीय ब्रहम यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते ब्रहमको स्थानीय फूलकुमारी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्