सप्तरी घटनाको मुख्य दोषी सरकारः वैद्य



काठमाडौं, (नेस)
नेकपा क्रान्तिकारी माओवादीले सप्तरी घटनाको मुख्य दोषी सरकार रहेको आरोप लगाएको छ। पार्टीका अध्यक्ष मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गरी वर्तमान राज्य सत्ताकै असफलताका कारण घटना भएको बताइएको छ।

सप्तरी घटनाले आफ्नो पार्टी स्तब्ध भएको भन्दै घटनामा मृत्यु भएकाहरूप्रति दुःख र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ। घटना संविधान संशोधन र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘संशोधन र स्थानीय निर्वाचनबारे उत्पन्न समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमालेसमेत जिम्मेवार रहेको छ।’
यसै गरी, नेपाल कम्युनिस्ट पार्टीले सप्तरीमा भएको हिंसात्मक घटनाका लागि एमाले र मधेसी मोर्चा दुवै दोषी भएको बताएको छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई बिथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताएको छ। पार्टीले संसदीय व्यवस्थाको विरोध गर्दै आएको र वैज्ञानिक समाजवादले मात्र शान्ति, समृद्धि र स्थिरता स्थापना गरी जनताको अधिकार सुनिश्चित गर्ने महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्