अभिभावक गुमाएका बालबालिकालाई सहयोग



सीताराम अधिकारी
धादिङ
बाबुको मृत्यु भएको र आमा मानसिक अवस्था ठीक नभएर घर छाडेर बेपत्ता भएपछि बिचल्लीमा परेका चार बालबालिकालाई मंगलबार धादिङबेसीमा सहयोग हस्तान्तरण गरिएको छ।

२०७२ वैशाख १२ को भूकम्पअघि आमाले मानसिक सन्तुलन गुमाएपछि घर छाडेर हिँडेको र बाबुको एक वर्षअघि एचआईभीका कारण बाबुको मृत्यु भएको समाचार नेपाल समाचारपत्रमा गत माघ २२ मा ‘अभिभावक गुमाएपछि बिचल्ली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। नीलकण्ठ नगरपालिका ११ भोर्लेका प्रवीण गुरुङ, सञ्चिता गुरुङ, सन्तु गुरुङ र जितबहादुर गुरुङ बिचल्लीमा परेका हुन्। उनीहरूलाई ललितपुरस्थित श्रीडी साइबाबा समाज सेवा निधि नामक संस्थाका तर्फबाट अध्यक्ष डा. सुन्दरमणि दीक्षित र सदस्यसचिव रेवादेवी दीक्षितले २ लाख रुपियाँ सहयोग उपलब्ध गराउनुभएको थियो।

सहयोगमध्ये २५ हजार रुपियाँको तत्काल आवश्यक परेको कपडा जुत्ता, झोला, कलम, कापीलगायतका सामग्री खरिद गरिएको छ भने १ लाख ७५ हजार रुपियाँ प्रभु बैंकको मुद्धती खातामा राखिएको छ। चार बालबालिकामध्ये ३ वर्षीय जितबहादुर १६ वर्ष भएपछि चार जनाको उपस्थितिमा मात्र झिक्न मिल्ने गरी संरक्षक हजुरबुबा तेजबहादुर गुरुङ रहेको खातामा राखिएको छ।

अभिभावक गुमाएका बालबालिका लागि प्राप्त सो रकम मंगलबार प्रेस काउन्सिलका सदस्य शुभेच्छा बिन्दु तुलाधरले धादिङबेसीमा हस्तान्तरण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्