कामना प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको ८औं अधिवेशन मंगलबार सम्पन्न भएको छ।

महाधिवेशनले टीका बन्धनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

कार्यसमतिका उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा यदुप्रसाद भट्ट, कोषाध्यक्षमा सूर्य अर्याल र सदस्यहरूमा केशरमान श्रेष्ठ, जयकुमार महर्जन, प्रकाश श्रेष्ठ र सुरेश तामाङ चयन भएका छन्। अधिवेशनले केन्द्रीय पार्षद्मा पुष्करलाल श्रेष्ठ, लेखनाथ अधिकारी, दीपक रिजाल र भगवती तिमिल्सिनालाई चयन गरेको छ।

अधिवेशनको उद्घाटन कामना न्युज पब्लिकेसन्सका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा उहाँले पत्रकारिता पेसालाई मर्यादित रूपमा अगाडि बढाउन पत्रकारहरूले राजनीतिक दलको कार्यकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्न नहुने बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारको हकहितमा पत्रकार महासंघ लाग्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि रामहरि सिलवालले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। शाखा सभापति दीपक रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्