एमालेको अभियान २७ गते हेटौंडाबाट



हेटौंडा,(नेस)

नेपाल कम्युनिष्ट पार्टी एमालेको मेची–महाकाली राष्ट्रिय अभियान २०७३ का लागि मकवानपुरमा तयारी तीव्र पारिएको छ । झापाको काँकडभित्ताबाट सुरु भएको अभियान ३ दिन रोकिएर फागुन २७ गते हेटौंडाबाट पुनः शुरु हुने भएको हो ।

सप्तरीमा तनाव भएपछि एमालेले सोमबँर तीन दिनका लागि अभियान स्थगित गरेको हो । नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो ।

नेकपा एमालेले सरकारको आग्रह र परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर मेची–महाकाली अभियान तीन दिनलाई स्थगित गरेको जनाएको छ । सोमबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले अभियानविरुद्ध षड्यन्त्र भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

राजविराजमा भएको घटनापछि बसेको स्थायी समिति बैठकपछि जारी विज्ञप्तिमा तीन दिनलाई अभियान रोकिएको उल्लेख छ । फागुन २७ पछि फेरि अभियानलाई निरन्तरता दिइने पार्टी मकवानपुर जिल्ला सचिव एकालाल श्रेष्ठले बताए ।

मधेसी मोर्चाको आवरणमा मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्रका कारण घटना भएको उनले दाबी गरे । एमाले कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ता अत्यन्त अराजकरुपमा प्रस्तुत भएकाले त्यस्तो घटना भएको उल्लेख छ ।

संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको नेकपा एमालेलाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिक विस्फोटक पदार्थ बिच्छ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने र पेट्रोल बम प्रहार गर्ने जस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेको एमालेले बताएको छ ।

‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । उक्त घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई पुष्टि गरेको छ,’ सचिव श्रेष्ठले भने ।

नेकपा एमाले मकवानपुरले सोमबार विशेष बैठक राखेर अभियानका विषयमा छलफल गरेको थियो । करिब १ हजार जना सहभागी अभियान टोलीलाई आवासको तयारी पूरा भएको छ । उक्त दिन हेटौंडामा हुने सभामा छिमेकी जिल्लासहितका २० हजार जना सहभागी हुने पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्माओली, पार्टीका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताले हेटौंडामा हुने कार्यक्रममा सम्बोधन गर्ने श्रेष्ठले बताए ।

२७ गते हेटौंडा आउने टोली २८ गते विहान चितवनतर्फ लाग्नेछ । टोलीको स्वागतका लागि गेट र ब्यानर राख्ने तयारी अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराइएको थियो । हेटौंडाको सभामा राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

अभियान प्रचारप्रसारका लागि पर्चा पम्प्लेट, घरदैलो अभियानलाई तीव्रता दिइएको छ । पार्टी जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज विरोध खतिवडा, सांसद् अनन्त पौडेल, उपाध्यक्ष बद्रि लम्साल, सचिव श्रेष्ठ, ३ नम्बर प्रदेश कमिटी सदस्य रामेश्वर रानासहित मोर्चा प्रमुख श्रीधर पोखरेललगायत जिल्ला र क्षेत्र तहका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्