लगानी सम्मेलनमा उठेका विषयलाई सम्बोधन गर्न समिति



नेपाल समाचारपत्र
काठमाडौं
लगानी सम्मेलनमा लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गर्न सरकारले चार समिति गठन गरेको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले सोमबार पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले देखाएको इच्छालाई कार्यान्वयन गर्न आफ्नै अध्यक्षतामा २१ सदस्यीय विदेशी लगानीसम्बन्धी उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिनुभयो।

समितिका सदस्यमा बाणिज्य मन्त्री, पर्यटन मन्त्री, ऊर्जा मन्त्री, उद्योग सचिव, अर्थ सचिव, वाणिज्य सचिव, पर्यटन सचिव, ऊर्जा सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र उद्योग मन्त्रालयका सहसचिव सदस्यसचिव रहने व्यवस्था गरिएको छ।।

यसैगरी राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी नीतिसम्बन्धी उपसमिति गठन गरिएको छ। जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थ, पर्यटन मन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन्।

उद्योग मन्त्रालयका सचिवको संयोजकत्वमा विदेशी लगानी प्रवद्र्धन उपसमिति गठन गरिएको छ। जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थ मन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन्। यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विदेशी लगानीसम्बन्धी परियोजना उपसमिति गठन गरिएको छ। जसमा उद्योग, वाणिज्य, ऊर्जा, अर्थ मन्त्रालयका सहसचिवलगायत ११ सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्