प्रचण्ड र ओलीबीच टेलिफोन वार्ता



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन कुराकानी भएको छ। मेची–महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको गोलीकाण्डपछि ओलीले प्रचण्डलाई आफ्नो पार्टीले शुरू गरेको अभियानमा ढुङ्गा मुढा गर्ने, गाडी जलाउने काम किन भइरहेको भन्ने प्रश्न गर्नुभएको थियो। जवाफमा प्रधानमन्त्रीले तत्काल कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो।

प्रचण्डको भनाइ उद्धृत गर्दै प्रमुख सल्लाहाकार चक्रपाणि खनालले भन्नुभयो– ‘अभियानका बारेमा समीक्षा गर्नुहोस्, देशलाई मुढभेडतिर लैजाने कि वार्तामार्फत समस्याको समाधान खोजेर संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन गर्ने?’ सप्तरीको घटनालगत्तै केही दिन कार्यक्रम स्थगित गर्न पनि प्रधानमन्त्रीले ओलीसँग आग्रह गर्नुभएको छ। ‘स्थानीय निकायको निर्वाचनको मुखमा द्वन्द्व सृजना गर्ने काम कसैले पनि गर्नुहुँदैन’, खनालले भन्नुभयो– ‘सरकारले द्वन्द्व हुनबाट रोक्ने हो, एमालेले शान्तिपूर्ण कार्यक्रम गर्न पाउँछ, मेधसी मोर्चाले पनि भिडन्तको शैली त्याग्नुपर्छ।’

खनालका अनुसार सप्तरीमा भएको घटनापछि प्रधानमन्त्री प्रचण्ड र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरबीच पनि टेलिफान संवाद भएको थियो। ठाकुरले घटनामा घाइते भएकाहरूको तत्काल उपचार गर्न सरकारसँग माग गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्