‘संशोधन चुनावपछि’



काठमाडौं, (नेस)
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नदेखिएकाले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्र विधेयक पारित हुनसक्ने बताउनुभएको छ।

चुनावका लागि साझा मिलनविन्दु पहिल्याउन प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाबीच सहमति हुन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘एउटा संविधान संशोधनको कुरै सुन्न चाहँदैन्, अर्को हामीले भनेको भएन भने मान्दैनौं भन्छन्।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुयालले गृहमन्त्रीको कुर्सी सिंगो नेपालको कुर्सी भएकाले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो।

उहाँले आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उक्त अभियान संविधान कार्यान्वयनका लागि भएको बताउनुभयो।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले एमालेले विगतमा गरेको गल्तीका कारण आज मधेसका गल्ली–गल्लीमा विरोध भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एमालेले विगतमा गम्भीर गल्ती गरेको थियो, उसले मधेसमा कालो दिवस मनाउँदै गर्दा कालो मान्छेले कालो दिवस मनाउनु नौलो कुरा होइन भनेर भन्यो, आन्दोलनमा मान्छे मर्दा ४ वटा आँप खस्यो भनेर प्रतिक्रिया दिए, यो भनेको रंगभेदी काम हो।’

निर्वाचन कसले गर्ने, कहाँ हुने, निर्वाचन केन्द्र कहाँ हुने, वडा कहाँ रहने भन्ने कुरा नै अहिलेसम्म टुंगो नलागेकाले निर्वाचन कसरी हुन्छ भन्ने प्रश्न गर्दै उहाँले सरकारले निर्वाचनको नौटंकी मात्रै गरिरहेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्