राष्ट्रपति र पूर्वराजा आज आमनेसामने



ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आमनेसामने हुने भएका छन्। चर्चित उद्योगपति विनोद चौधरीले निर्माण गर्नुभएको शाश्वत धाममा मुलुकका दुई व्यक्ति आमनेसामने हुन लागेका हुन्। नवलपरासीको दुम्कीबासस्थित चौधरी ग्राममा रहेको सिजी इन्डस्ट्रिज पार्कको करिब ५ बिगाह क्षेत्रफलमा निर्मित धामको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।

आज मंगलबार बिहान करिब ९ बजे राष्ट्रपति भण्डारीले उद्घाटन गरेलगत्तै सोही ठाउँमा पूर्वराजा ज्ञानेन्द्रले प्राण प्रतिष्ठा, हवन, अभिषेक र धर्मसभामा विशिष्ट अतिथिको रूपमा उपस्थिति जनाउने कार्यक्रम रहेको छ। मूल कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति भएपछि अन्य दिनभरको कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र विशेष अतिथि रहनुहुनेभएको छ। ‘राष्ट्रपतिबाट धामको उद्घाटन भएलगत्तै पूजाआजा गर्ने कार्यक्रम रहेको छ’ –पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले भन्नुभयो। उहाँले पूर्वराजाको सबै कार्यक्रम राष्ट्रपतिको सवारीपछि रहने जानकारी दिनुभयो।

विशेष पूजाका लागि पूर्वराजा ज्ञानेन्द्र हिजो सोमबार दिउँसो ३ बजेको उडानबाट चितवन पुगिसक्नुभएको छ। आजको कार्यक्रमको तयारी गर्न उहाँ हिजै चितवन आउनुभएको हो। ‘धाम परिसरमा रहेको एकम्बेश्वर शिव मन्दिरको प्राण प्रतिष्ठा, कुम्भा अभिषेक र धर्मसभामा सहभागी हुन उहाँ नवलपरासी जान लाग्नुभएको हो’ –संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिनुभयो।

सो कार्यक्रममा सहभागी हुन काञ्ची कामाकोठीका शंकराचार्य जयन्त सरस्वती, आर्ट अफ लिभिङ फाउन्डेसनका प्रमुख रविशंकर, विभिन्न पीठका पीठाधीश, मठाधीशलगायत दर्जनौं हिन्दु धर्मगुरुहरू नवलपरासी पुगिसकेका छन्। नेपालका विभिन्न गुरुहरूलाई समेत कार्यक्रममा निम्तो दिइएको छ। विशेष पूजा कार्यक्रममा पशुपतिनाथका भट्टको समेत सहभागिता रहने विश्वहिन्दु महासंघकी अस्मिता भण्डारीले बताउनुभयो।

चौधरी ग्रुपले धाम उद्घाटनका लागि सम्पूर्ण तयारी गरिसकेको छ। राष्ट्रपति र पूर्वराजा एउटै स्थानमा सहभागी हुने भएपछि सो स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ। विश्वभरका सनातन धर्म मान्नेहरूका योग, अध्ययन र पूजा–अर्चनाका लागि स्थापना गरिएको सो धामको नाम ‘श्री काञ्ची शंकरा सदाशिव लिंगम्’ दिइएको छ। उद्घाटन भए पनि वैशाखदेखि सर्वसाधारणका लागि सो स्थान खुला गरिने भएको छ। मनमोहक वाटर फाउन्टेन, स्वप्नरूपी बगैंचा रहने सो पार्क र धाममा भक्तजनहरूलाई मन्दिरमा बाहिरबाटै आरती गर्ने व्यवस्था गरिएको छ।

धाम परिसरमा विद्युतीय पुस्तकालय र धार्मिक सूचना केन्द्र राखिनेछ। सो सूचना केन्द्रमा देशभरका मठ–मन्दिर धार्मिक क्षेत्र, शक्तिपीठलगायतका सम्पूर्ण धार्मिक स्थलका बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

शाश्वतधाममा गुरुकुल, योग र ध्यान केन्द्र, गौशाला, आवास क्षेत्र अखण्ड अग्नि कुण्ड, शक्तिघाट, फर्म, धर्मशाला, यज्ञकुण्ड रहने भएको छ। विशेष गरी सानातन धर्मावलम्बीहरूका लागि मुख्य धार्मिक केन्द्रको रूपमा विश्वास गरिएको धामलाई चौधरी ग्रुपले धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको हो। उद्घाटन भएलगत्तै सो क्षेत्रमा चहलपहल बढ्ने भएको छ। करिब १२ वर्ष लगाएर निर्माण गरिएको सो धाम धार्मिक दृष्टिले महत्त्वपूर्णरूपमा लिइएको छ। पूर्वराजा ज्ञानेन्द्र बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्