क्यान्सर अस्पतालको अत्याधुनिक भवन सञ्चालन



नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुर क्यान्सर अस्पतालले २२औं वार्षिकोत्सवको अवसरमा आइतबार २५ शैय्यासहितको अत्याधुनिक स्मृति भवन सञ्चालनमा ल्याएको छ। विभिन्न दाताहरूबाट संकलिन रकमबाट निर्माण भएको उक्त भवनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभयो।

कार्यक्रममा बिजुक्छेले देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पुर्याउँदै आएको अस्पताललाई दाताहरूको सहयोग र सरकारी सहयोग वृद्धि गराउनुपर्ने बताउनुभयो। उहाँले अस्पतालको सेवा अझै विस्तार र विकास गर्नुपर्नेमा जोड दिनुभयो। स्मृति भवनको पहिलो तल्लामा बिरामीका लागि २५ शैय्या, दोस्रो अत्याधुनिक अपे्रसन थिएटर र तेस्रो तल्लामा एनेक्स तथा भीआईपी वार्ड रहेको अस्पतालका प्रशासक राजाराम तजलेले बताउनुभयो।
कार्यक्रममा सांसदद्वय रामेश्वर ढुङ्गेल, प्रेम सुवाल, अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपाने, नेपाल अर्बुद्ध रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकार, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र श्रेष्ठलगायतले सरकारको मात्रै मुख नताकी सबैको सहयोग जुटाएर अस्पतालको विकास गर्दै लैजानु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अस्पताललाई सहयोग गर्ने दाताहरूमध्ये १० लाख रुपियाँभन्दा बढी सहयोग गर्ने जिल्ला विकास समिति भक्तपुरलाई डाइमन्ड सर्टिफिकेट, १ लाखदेखि ९ लाख ९९ हजार ९ सय ९९ रुपयाँ वा सो बराबरको सामान प्रदान गर्ने ५ दातालाई गोल्डेन सर्टिफिकेट, ५० हजार देखि ९९ हजार ९ सय ९९ रुपियाँ वा सो बराबरको सामान प्रदान गर्ने दुई दातालाई सिल्भर सर्टिफिकेट र ५० हजारभन्दा बढीको सामान दिने दातालाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्