विहे घरबाट १६ लाखको गहना चोरी



बाँके, (नेस)
विहेको तयारी भइरहेको घरबाट गहना चोरी भएको छ। नेपालगन्ज–१३ का लक्ष्मणप्रचण्ड सिंहको घरबाट १६ लाखबराबरको गहना चोरी भएको हो। बुहारी बिना सिंहको कोठामा राखिएको गहना गएराति चोरी भएको थियो। शिक्षिका रहेकी बिना विद्यार्थीलाई लिएर बुटवल गएका बेला चोरी भएको थियो।

चोर घरको छतमा रहेको ढोकाबाट भित्र पसेको थियो। बिहान कोठामा गहनाहरू नरहेको थाहा पाएपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल नै बजार र नाकामा कडाइ गरेको थियो। भारतीय प्रहरीको सहयोगले एकजना चोरलाई रुपैडिहाबाट पक्राउ गरिएको छ। चोरिएका गहना लिएर रुपैडिहा पुगेका नौबस्ताका जय थापा पक्राउ परेका हुन्। उनको साथबाट मंगलसूत्र, औठीलगायत गहना र नगद पैसासमेत बरामद भएको छ।

लागूऔषध प्रयोगकर्ताको समूहले चोरी गरेको प्रहरीको भनाइ छ। घटनामा अरु धेरैको संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ। ‘घरमा कोही नभएको मौका छोपेर चोरी गर्नेको बाँकेमा गिरोह नै छ, जुन गिरोहले दशैं र तिहार आसपासमा धेरै ठाउँमा चोरी गरेका थिए, प्रहरीको भनाइ छ।

साना चोर, लुटपाट बढिरहेको नेपालगन्जमा घरमा कोही नभएको मौका पारेर लाखौं रुपियाँ झ्वाम पार्नेहरूको छुट्टै गिरोह रहेको प्रहरीको आंकलन रहेको छ। दशैमा १३ ठाउँमा २६ लाखको चोरीमा यस्तै गिरोहको हात रहेको थियो। यो गिरोहलाई प्रहरीले अहिलेसम्म समात्न सकेको छैन। घटनामा कुनै सुराक नछोड्ने यो समूह अति नै चलाख रहेको छ।

प्रतिक्रिया दिनुहोस्