एमालेद्वारा २१ केन्द्रीय सदस्य मनोनयन मेची–महाकाली अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र
कांकडभिट्टा
प्रमुख विपक्षी नेकपा एमालेले तराई मधेस मूलका २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ।पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र वैठा, यदुवंश झा, गंगा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनारायण महतो हुनुहुन्छ। यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव हुनुहुन्छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मेची—महाकाली अभियानको शनिबार यहाँ उद्घाटन गर्नुभएको छ।

सो अवसरमा बोल्दै ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताउनुभएको छ। ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताको जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाउनुभयो।

उहाँले भन्नुभयो– ‘एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ। निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन। अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने जनाउनुभयो। पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थालिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गर्नुभयो। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियान केहीबेर अघि काकडभिट्टाबाट शुरू भएको हो।

Skip This