प्रधानमन्त्रीसँग भियतनामका विदेशीमन्त्रीको भेट



काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उहाँले आज बिहान भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गर्नुभएको उहाँका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताउनुभएको थियो । सो अवसरमा कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

भियतनामका विदेशमन्त्री चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताउनु भएको थियो । चाउले जलविद्युत्को क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको थियोे । रासस

प्रतिक्रिया दिनुहोस्