सम्पदा पुनर्निर्माणले गति लिन सकेन



ईश्वरराज ढकाल, काठमाडौं
श्वसम्पदा सूचीमा रहेको पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाहरूको जिर्णोद्धार तीव्र गतिमा भए पनि काठमाडौमा भने कछुवा गतिमा अघि बढेको छ। स्थानीयवासीले आफ्नो क्षेत्रमा अपनत्व कायम हुने गरी सहभागिता जनाउने माग गरेपछि हनुमानढोका दरबार क्षेत्रको काम सुस्त अवस्थामा रहेको छ।

पुरातत्व विमागले ठेक्का दिंदा स्थानीयलाई सहभागिता नगराएको आरोप लगाउँदै स्थानीयवासीले अधिकांश जिर्णोद्धारको काम रोक्न माग गरेका थिए। स्थानीय गणपतिलाल श्रेष्ठका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ कार्यविधि ल्याएर स्थानीयलाई सहभागिता नगराएसम्म कुनै पनि काम गर्न नदिने चेतावनी दिनुभएको छ।

सरकारले हामीमाथि रकम मागेको आरोप लगाएको छ, तर हामीले कामको अनुगमन गर्न मात्रै माग गरेका हौं। स्थानीयले कान्तिपुर विकास समिति गठन गरी हनुमानढोका दरबार क्षेत्र परिसरमा भएका सम्पूर्ण कामको अनुगमन गर्ने जनाएको छ।

प्राधिकरणले ल्याउन लागेको नयाँ कार्यविधिको प्रतिक्षामा छौं, नयाँ कार्यविधि आएपछि मात्रै थप काम अघि बढाउन दिनेछौ। कम रेटमा ठेक्का दिंदा जिर्णोद्धार गरिएका सम्पदाहरू कमजोर हुने भएपछि अमानतमा काम गराउनुपर्ने माग गर्दै दश अवतारलगायतको ठेक्का दिएका सम्पदाहरूको काम रोकेका हौं –समितिका प्रवक्ता श्रेष्ठले बताउनुभयो।

विभागले स्थानीयलाई वेवास्ता गरी सम्पदाहरूको जिर्णोद्धार गर्न लागेको थियो। करिब एक महिनाअघि काम शुरु गर्न लागेको दश अवतारको काम गर्न रोक लगाएपछि विभागले स्थानीयसंग परामर्श शुरु गरेको छ।

हामी विकास विरोधी होइनौ, मनपरी रूपमा ठेक्का दिए काम गर्न लागेकोमा विरोध जनाएका हौं। स्थानीयले गर्दा काम अवरोध भएको विभागले दावी गरे पनि हनुमानढोका दरबार क्षेत्रको काम अति सुस्त हुँदै गएको छ। झण्डै दुई वर्ष अघि गएको शक्तिशाली भूकम्पले गर्दा हनुमानढोका दरबार क्षेत्रका करिब एक दर्जन मन्दिर पूर्ण रूपमा ध्वस्त भएका थिए।

भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि आधा दर्जन सम्पदाको मात्रै काम अघि बढेको छ। हनुमानढोका दरबार क्षेत्र विकास समितिका प्रमुख करुण नकर्मीले हालसम्म करिब एक दर्जन सम्पदाको पुनर्निर्माण भइसकेको बताउनुभयो। हालसम्म तलेजुको छाना, पञ्चमुखी, नृत्यश्वर, लक्ष्मीनारायण र कागेश्वरी मन्दिर पुनर्निर्माण भएको छ। तीमध्ये पञ्चमुखीबाहेक अन्य सबै साना मन्दिर हुन्।

स्थानीयको कारण हनुमानढोकाका सम्पदा तत्काल पुनर्निर्माण हुनसक्ने अवस्थामा छैन। युनेस्कोले ठेक्कामा भन्दा अमानतमा सम्पदा निर्माण गर्दा टिकाउ हुने जनाएको बताउँदै आएको छ। सोअनुसार काम भए हामी विरोध गर्दैनौं तर मनपरी रूपमा सम्तोमा पुनर्निर्माण गर्दा कमसल ह्ुने भएपछि विरोध गरेका हौं –स्थानीय श्रेष्ठले भने।

स्थानीयले विरोध गर्न थालेपछि प्राधिकरणले कार्यविधि परिवर्तन गर्ने तयारी गरेको छ। प्राधिकरणले सम्पदा र धरोहरहरूको पुनर्निर्माण गर्न आवश्यक खरिद विधि सम्बन्धमा परिमार्जन र सुधारका लागि खरिद कार्यविधिको संशोधन प्रस्ताव वा छुट्टै कार्यविधि तयार गरी स्विकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ।

खरिद ऐनअनुसार कम विडिङ गर्ने ठेकेदारलाई मात्र काम दिनुपर्ने उल्लेख छ। तर सम्पदा पुनर्निर्माणमा यो विधि परिमार्जन गर्नु आवश्यक रहेको छ –विभागका महानिर्देशक भेषनारायण दाहालले नेपाल समाचारपत्रसंग भन्नुभयो।

उहाँले अमानतमा काम गरे सम्पदा पुनर्निर्माणमा सहज हुने जानकारी दिनुभयो। विश्व सम्पदा शाखा प्रमुख डा. सुरेश सुरज श्रेष्ठले सरकारको नीतिअनुसार काम गर्दा केही समस्या आएको बताउँदै खरिद ऐनमा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो।

युनेस्कोले ठेकेदारमार्फत भन्दा पनि आफैंले पुनर्निर्माण गर्न विभागलाई सुझाव दिएको थियो। युनेस्कोले मात्रै नभइ पुरातत्वविदले समेत अमानतामा काम गर्न सुझाव दिएका थिए। अहिले त्यही समस्याले गर्दा हनुमानढोकाका सम्पदा पुनर्निर्माण गर्न ढिलाइ भएको छ।

स्थानीयले भने सबैको सहभागितामा जिर्णोद्धार गर्न माग गर्दै प्राधिकरणलाई समेत ध्यानाकर्षण गराई सकेका छन्। भक्तपुर र पाटनमा स्थानीयहरूको सहभागिता गराउन मिल्ने अनि काठमाडौंमा नहुने ? विभागको एकलौटी नीतिका कारण सम्पदा पुनर्निर्माण कार्यमा ढिलाइ भएको हो –स्थानीय श्रेष्ठले भन्नुभयो।

उहाँले सरकारले जबसम्म स्थानीय पक्षको सहभागिता गराउनुपर्छ भन्ने विषयमा निर्णय गर्दैन तबसम्म हामी काम गर्न दिदैनौं –श्रेष्ठको भनाइ छ। हाल हनुमानढोका क्षेत्र परिसरमा रहेको च्यासी देगः,तारिणीदेवी, आगम मन्दिर,त्रैलोक्य मोहन नारायण,जगन्नाथ, कृष्ण महाविष्णु, नाट्यश्वर, विष्णु मन्दिर, ठूलो नगरा, माजु देगः, काष्ठमण्डप मरुसत्तल, तलेजु र गद्दी बैठक क्षतिग्रस्त छन्।

तीमध्ये काठमाडौं महानगरपालिकाले माजु देगः, सिह सत्तल, काष्ठमण्डप र ठूलो नगरा, केभिपिटीले कागेश्वर, महादेव र विष्णु मन्दिर पुनर्निर्माण गर्ने भएको छ। हनुमानढोका विकास समितिले नाट्यश्वर र तलेजु, जापानिज फन्टअन्तर्गत जेफिट र युनेस्कोले, कृष्ण र महाविष्णु र गद्दी बैठक अमेरिकन फन्टबाट निर्माण हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्