७१ वटा योजनाका लागि ६ करोड



रसुवा, (नेस)
उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार (हिमाली) आयोजनाले रसुवामा सञ्चालित ७१ वटा उपआयोजनाको लागि ६ करोड १३ लाख अनुदान प्रदान गरेको छ ।

उच्च पहाडी जिल्लाको बासिन्दाको आय वृद्धि गर्ने र जिविकोपार्जनमा सहयोग पुर्याउनका लागि सञ्चालन गरिएको आयोजनाले जिल्लामा सञ्चालित उपआयोजनालाई ६ वर्षमा ६ करोड १३ लाख अनुदान प्रदान गरेको हो ।
जिल्लामा सञ्चालित ७१ वटा उपआयोजना तथा ७ वटा पुर्ननिमार्ण तथा पुर्नस्थापनाका लागि ६ करोड ९६ लाख ७९ हजार सम्झौता भएकोमा हालसम्म सो बराबरको रकम उपलब्ध गराएको जिल्ला पशुसेवा कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला पशुसेवा कार्यालय रसुवाका वरिष्ठ पशु चिकित्सक डा. विनोद कट्टेलका अनुसार अनुसार रसुवाबाट तीन सय ११ वटा व्यावसायिक योजना पेस गरेकोमा दुई वटा प्रस्तावना फिर्ता लगेको, एउटाको कोड दोहोरिएको र तीन सय ९ वटा आयोजना निर्देशनालयमा मूल्यांकनको लागि पठाइएकोमा ७१ वटा उपआयोजाना स्वीकृत भएर सञ्चालनमा आएका हुन् ।

जिल्लामा हालसम्म व्यावसायिक चौरीपालनको आठ वटा, चिराइतो खेतीको १९ वटा, बाख्रापालनको २४ वटा, भँेडा पालनको चार वटा, तरकारी खेतीको पाँच वटा, स्थानीय तरकारी खेतीको एक वटा, दूध डेरीको एक वटा, बंगुर पालनको एक वटा, डालेचुक एक वटा, यंग्रो टुरिजमको लागि एक वटा उपआयोजना सम्झौता भएर सञ्चालनमा रहेको हिमाली आयोजनाका रसुवा प्रमुख विरदलाल श्रेष्ठले बताउनुभयो । कार्यक्रम सञ्चालनमा आएदेखि रसुवाका कृषि तथा पशुपालक व्यवसायीले हालसम्म एक करोड ९४ लाख १५ हजार आम्दानी लिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्