विप्लव माओवादीले पनि चुनाव बहिष्कार गर्ने पार्टीको नाम परिवर्तन



नेपाल समाचारपत्र
काठमाडौं
विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरेको छ। आज सम्पन्न हुने ८औं महाधिवेशनले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रस्तावमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको प्रतिवेदन पारित गरेको छ।

यस्तै अधिवेशनले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन बहिष्कार गर्ने जनाएको छ। त्यसका लागि प्रत्येक गाविसस्तरमा वैशाख १ गतेदेखि गाविसस्थित पार्टीका सेक्रेटरीको नेतृत्वमा चुनाव बहिष्कार टिम गठन गर्ने गरी तयारी थालिएको छ। जसरी पनि चुनाव भाँड्ने पार्टीको रणनीति रहेको जनाइएको छ।

यस्तै, जनयुद्धको क्रममा घाइते, अपांग र पीडित भएकाहरूको पुनस्र्थापनाका लागि श्रमदान गरी घर निर्माण गर्ने निर्णय गरेको पार्टीका जिल्लास्तरका नेता मदन केसीले जानकारी दिनुभयो।

यसै गरी वर्तमान सरकारले जनताका मुद्दालाई सम्बोधन नगरेको भन्दै पार्टीभित्रै न्याय विभाग गठन गरी समानान्तर सरकारका रूपमा मुद्दा सल्टाउने गरी आफ्नो कामलाई अघि बढाउने निर्णय गरेको सो पार्टीले बताएको छ।
पार्टी एकपदीय प्रणालीमा जाने र ८५ सदस्यीयसम्म केन्द्रीय कमिटी निर्माण गरिने बताइएको छ। यस्तै दुई अवधिभन्दा बढी समय एक व्यक्तिले पार्टीको नेतृत्व लिन नपाउने र पार्टीको नेतृत्व हस्तान्तरण गरिने प्रतिवेदन पारित भएको बताइएको छ।

रोल्पाको थवाङमा जारी अधिवेशनले गरेका निर्णयहरू आगामी फागुन १४ गते रोल्पाको लिबाङमा आमसभा गरी सार्वजनिक गर्ने तयारी भएको सो पार्टीले बताएको छ।

एकीकृत जनक्रान्ति जिन्दावाद भन्ने मूल नाराका साथ माओवादीको अधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा भएको थियो भने फागुन ५ गतेदेखि थवाङमा जारी बन्द सत्र आज नयाँ नेतृत्व चयन गर्दै सकिँदै छ। अधिवेशनको बन्दसत्रमा विभिन्न जिल्लाका नेताहरूबीच समूहगत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्