दलित मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार जरिवाना



रामेछाप, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् ।

बेताली–३ मा रहेकोे शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् ।

स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बलि चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ ।

सोही जनविश्वासअनुसार विकले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए ।

विक मन्दिरभित्र प्रवेश गर्नासाथ दलित किन मन्दिरभित्र पसेको भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गर्न थाले । पीडित कृष्णकुमारले “हामी चाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौँ” भन्दै पुजारीले नै दुव्र्यवहार गरेका थिए । त्यतिबेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन् ।

पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्ज ब. कार्कीलाई फोन गरेर सोधे । गुञ्जबहादुरले फोनमार्फत नै कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्री लगाएर मात्र अरू पूजा गर्नु भनेर आदेश दिएपछि सोही बमोजिम पुजारीले जरिवाना गरे । रासस

प्रतिक्रिया दिनुहोस्