कर्णालीको गरिबी २१ प्रतिशतमा झार्ने प्रमको दाबी



नेपाल समाचारपत्र
काठमाडौं
कर्णाली विकास आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेलको नेतृत्मा आयोगका पदाधिकारीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता विषय कर्णाली विकासका प्रमूख चुनौतिको रूपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिबी १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताउनुभयो।

कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो। प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रिपरिषद्मा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने जानकारी दिनुभयो।

यसैबीच प्रधानमन्त्री दाहालले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ। शुक्रबार नै काठमाडौंमा नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेला उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो। उहाँले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही वर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक समृद्ध राष्ट्रका रूपमा स्थापित गर्ने बताउनुभयो। उहाँले रारा तालमा मन्त्रिपरिषद्को बैठक बसेर राराको सुन्दरतालाई विश्वमै चिनाउने घोषणा गर्दै पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु, म दुईपटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको जानकारी दिनुभयो

प्रधानमन्त्रीले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांकालगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरूको वृद्धि हुने बताउँदै अब नेपाललाई एक बलियो, एकताबद्ध र समृद्ध राष्ट्र बन्नबाट कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो। उहाँले पर्यटकीय पूर्वाधार द्रुतगतिमा अघि बढेको उल्लेख गर्दै प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा अबको ८⁄१० वर्षभित्रै पर्यटन थामिनसक्नु हुने बताउनुभयो।

प्रधानमन्त्रीले यो सम्भावनालाई मध्यनजर गरी सकारात्मक सोचका साथ एकताबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै राजनीतिक स्थिरता कायम गरी सकारात्मक सोचका साथ अघि बढ्नसके पर्यटन अनन्तकालसम्म जानसक्ने र यसले नेपाललाई संसारकै समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। उहाँले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेस, पहाड र हिमालमा द्वन्द्व गराउन चाहनेहरूको भण्डाफोर गर्नुपर्ने बताउँदै वर्तमान सरकार राष्ट्रिय एकता बलियो बनाएर समृद्ध नेपाल निर्माणमा अघि बढेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिक स्थायित्व र समृद्धि हासिल गर्न सक्यौ भने देश विश्वकै समृद्ध राष्ट्र बन्ने बताउनुभयो।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले आवश्यक नीति र योजना ल्याउनु पर्ने खाँचो औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्