मोदीबेणीमा पुल निर्माण गर्न अवरोध



दुर्गाप्रसाद शर्मा, पर्वत
उत्तर—दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने मोदीखोलमा मोटरेवल पुलको निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेका छन्।

पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीबेणीमा निर्माण हुन लागेको मोटरेबल पुलले मोदीबेणीधाम प्रभावित हुने भन्दै स्थानीयले अवरोध गरेका हुन। मोदीबेणी दिव्यधाम विकास समितिले पुल निर्माण गर्दा ऐतिहासिक तथा पौराणिककालदेखि रहेको मठ, मन्दिर, पाटीपौवा र बृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै अवरोध गरेको छ। समितिले मोटरेवल पुल निर्माण कार्यले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्वसमेत समाप्त हुने भन्दै निर्माण कार्य अगाडि बढ्न दिएको छैन।। पुलको निर्माण कार्य शुरु गरेपछि उनीहरूले उक्त स्थानबाट पुल निर्माण गर्न नदिने भन्दै प्रस्तावित नक्सांकन भएको ठाउँबाट करिब २ सय मिटर पूर्व मल्याङ्दी खोला नजिक निर्माण गर्न भौतिक योजना मन्त्रालयमा निवेदन दिएको छ। उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौं जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन। अहिले कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास—कुश्मा सडक खण्डको ट्रयाक खोल्ने काम भइरहेको छ।

कुस्माबजारलाई दक्षिण क्षेत्रसँग जोड्ने पुल ३ करोड ५० लाख लागतमा सम्पन्न हुनेछ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको पुलको लम्बाई १ सय ४० मिटर र चौडाई आठ मिटर रहने छ । अहिले बन्न लागेको स्थानमा मोटरेवल पुलले मोदीबेनी धाममा केहीँ असर नगर्ने र विकास निर्माणमा समेत राजनीतिक खिचातानी गर्ने परिपाटीका कारण स्थानीयले अवरोध गरेको पर्वत क्षेत्र– २ का सांसद विकास लम्सालले बताउनुभयो। उहाँले निकै कष्टपुर्ण तवरबाट पुल निर्माणको लागि बजेट विनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा स्थानीयले अवरोध गर्नु दुखद् भएको बताउनुभयो। मन्त्रालयबाट अब फेरि छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत लिई स्वीकृत भएपछि पुलको निर्माण कार्य अगाडि बढाउने तयारी भएको साँसद लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्