लघु जलविद्युत्लाई व्यावसायिक बनाउनुपर्नेमा जोड



काठमाडौं, (नेस)
लघु जलविद्युत् परियोजनाहरूलाई व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल लघु जलशक्ति विकास संस्थाको २४औं वार्षिक साधारणसभाका बक्ताहरूले लघु जलविद्युत् परियोजनाहरू अनुदानमुखी र बत्ति बाल्नका निम्तिमात्रै प्रयोग हुँदै आएकाले अब यस्ता परियोजनालाई व्यावसायिक बनाउनुपर्ने बताएका हुन्।

नेपालमा स्थापित लघु जलविद्युत् परियोजनाहरूमध्ये एक तिहाई परियोजना बन्द भइसकेको, एक तिहाई बल्लतल्ल चलेको र एक तिहाई सहज तरिकाले सञ्चालन आएको उल्लेख गर्दै अब लघु जलविद्युत् परियोजनाहरूलाई ग्रिडमा जोडेर यसलाई व्यावसायिक बनाउनुपर्ने तथा लघु जलविद्युत् परियोजनाहरू सञ्चालित क्षेत्रमा घरेलु तथा साना उद्योगहरूको स्थापना गरी स्थानीयस्तरमा रोजगारी र उद्यमशीलता बढाउन अबका दिनमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने उनीहरूको जोड थियो।

हजारभन्दा बढी परियोनाबाट ३७ मेगावाट विद्युत् उत्पादन गरी ग्रामीण क्षेत्रका जनतामा विद्युत्को पहुँच पुर्याउन सफल लघु जलविद्युत् परियोजनाहरू केबल साँझ बिहान बत्ति बाल्नका निम्तिमात्रै सञ्चालन हुने होइन, दिउँसोमा व्यावसायिक कार्य गर्नका लागि पनि उपयोग गर्नुपर्ने र त्यसका लागि राज्य, निजी क्षेत्रले सहजीकरण गर्नुपर्नेमा उनीहरूको भनाइ थियो। लघु जलविद्युत् परियोजनाहरूलाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न अझै केही प्राविधिक कठिाइ भए पनि लघु जलविद्युत् परियोजनाहरू एक आपसमा जोडिएर यसलाई व्यावसायिक बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार मास्के, संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटालगायतले धारणा राखेका थिए। त्यसक्रममा लघु जलविद्युत्को विकास र प्रवद्र्धनका उल्लेखनीय योगदान पुर्यावापत संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमा र विश्वभुषण अमात्यलाई सम्मान गरिएको थियो।

उता वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन्। विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरूले सो समस्या समाधान गर्न आग्रह गरेका हुन्।
उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइनमा पटक⁄पटक ट्रिप हुने, भोल्टेजको खराबीका कारण उपकरण जल्ने गरेको भन्दै समस्या समाधान हुनुपर्नेमा जोड दिएका हुन्।

एनएमबि बैंकद्वारा ट्राफिक प्रहरीलाई ड्रोन प्रदान
काठमाडौं, (नेस) एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन प्रदान गरेको छ।

यसबाट महानगरीय ट्राफिक प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा थप सहयोग पुग्न जाने बैंकले विश्वास लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गर्नु भएको थियो।

हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिकद्वारा सो ड्रोनको परीक्षण उडान पनि गरिएको थियो।

सो समारोहलाई सम्बोधन गर्दै पौडेलले महानगरीय ट्राफिक प्रहरीद्वारा ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै भन्नुभयो–‘ट्राफिक प्रहरीले ट्राफिक नियम र प्रणालीलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप सुदृढ बनाउन गरेको प्रयासमा यो ड्रोनबाट थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ। ’

प्रतिक्रिया दिनुहोस्