पोखराको पूर्वाधार विकासमा जोड



नेपाल समाचारपत्र
पोखरा
पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४⁄७५ को लागि १ अर्ब २८ करोड ५५ लाख ९५ हजार बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बजेटको झण्डै आधा हिस्सा पूर्वाधार निर्माण तथा संरचना विकासमा खर्च हुनेछ। नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ५६ करोड १० लाख रुपियाँ पूर्वाधार विकासमा खर्च गर्न सीमा तोकेको छ। उक्त बजेटमा विभिन्न ४० वटा योजनालाई मुख्य प्राथमिकतामा राखेको छ। एक देखि १८ वटा वडालाई १२ करोड र थपिएका ११ वटा वडालाई ८ करोड रुपियाँ विनियोजन गरिएको छ।
२१औं परिषद्ले पोखरामा बढ्दै गएको जग्गा विकास (प्लटिङ) लाई व्यवस्थित गर्ने ध्यान दिएको छ। जग्गा खण्डीकरणलाई प्रभावकारी बनाउन जग्गा विकास हुने मुख्यस्थानसम्म पुग्ने सडकको चौडाई १० मिटर हुनुपर्ने कायम गरिएको छ। त्यसपछिको शाखा सडकको चौडाई ८ मिटर र अन्य सडकहरूको हकमा न्यूनतम चौडाई ६ मिटर हुनुपर्ने नीति अबलम्बन गरेको छ। उपमहानगरपालिका क्षेत्रभित्र नयाँ खोलिने सम्पूर्ण सडक न्यूनतम ६ मिटर कायम गरिएको छ।

पार्किङ व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पार्किङ सुविधायुक्त घर बनाएमा राजस्व छुट दिने नीतिसमेत लिइएको छ। पार्किङ प्रभावकारी बनाउन ३० लाख रुपियाँ विनियोजन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि दीर्घकालमा कोत्रे– विजयपुरबाट हल्लनचोकसम्म भनिए पनि हालको लागि बुद्धचोक वा चाइनापुलबाट सभागृहचोकसम्म ओभरहेड ब्रिजको सम्भाव्यता अध्ययन गर्न ४० लाख रुपियाँ बजेट छुट्याइएको छ। पोखराको सडक व्यवस्थापनका लागि सेती फिर्के करिडोरको डीपीआर तयार गर्न ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमार्फत पोखरा प्रवेस गर्दा वैकल्पिक बाटो प्रयोग गर्ने गरी तीन वटा रुट प्रस्ताव गरिएको छ। त्यसको अध्ययनका लागि पोखरा उपमहानगरपालिकाले लेखनाथ नगरपालिकासँगको साझेदारीमा सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएका हुन्। फेवाताल सौन्दर्यकरणको लागि पनि नगरपालिकाले एक करोड रुपियाँ छुट्टाएको छ।
उपमहानगरपालिकाले स्थानीय करबाट १७ करोड, सेवा शुल्कबाट ५ करोड, दस्तुरबाट १५ करोड र अन्य आयबाट २४ करोड गरी कुल ६२ करोड ६५ लाख रुपियाँ आन्तरिक स्रोतको उल्लेख गरेको छ। बाह्यतर्फ ६५ करोड ९० लाख सहयोगको अपेक्षा गरेको छ। पूर्वाधार विकासमा ४४ प्रतिशत, जनसंख्या तथा सामाजिक विकासतर्फ ३७ करोड १६ लाख (२९ प्रतिशत), कृषि तथा वातावरणतर्फ ९ करोड ९५ लाख (८ प्रतिशत) र जलस्रोततर्फ ३ करोड २२ लाख (३ प्रतिशत) र संगठनतर्फ २२ करोड २१ लाख (१७ प्रतिशत) खर्च हुने अनुमान गरिएको कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिनुभयो।
आगामी वर्षका लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रममा पोखराका सबै वडालाई एक आपसमा जोड्ने गरी सडक मार्ग पहिल्याउने, बृहत् पोखराको गुरुयोजना बनाउने, अन्तर्राष्ट्रियस्तरको व्यवस्थित पार्क निर्माण, ल्यान्डफिल्ड साइडको लागि वैकल्पिक स्थानको खोजी, वायु प्रदुषण मापनको लागि यन्त्र जडान, नियमित सडक मर्मत सम्भारको लागि स्वचालित मर्मत इकाई गठन लगायतका नयाँ योजना समेटिएको कार्यकारी अधिकृत नवराज ढुंगानाले जनाउनुभयो।

पोखराको कम्तीमा तीन स्थानमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न रकम विनियोजन गरिएको छ। प्रस्तावित बजेटमा ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि रकम विनियोजन गरिएको छ भने अहिले नगर क्षेत्रका ४० प्रतिशत मात्र करको दायरामा रहेकाले बँँकी ६० प्रतिशतलाई ल्याउन अभियान सञ्चालन गर्ने गरी बजेट छुट्याइएको छ।पोखरालाई स्मार्ट सिटी बनाउनेदेखि केही महत्त्वपूर्ण नयाँ कार्यक्रम पनि समावेश गरिएको छ।

त्यसैगरी पर्यटकीय लेकसाइड क्षेत्रलाई दूरसञ्चार संस्थासँग समन्वय गरी फ्रि वाईफाई जोन बनाउने लक्ष्यसमेत छ। पोखरा बसपार्क बनाउने चासो नगरपालिकाले देखाए पनि उपत्यका नगरविकास समितिसँग समन्वय नहुँदा बसपार्क निर्माण हुन सकेको छैन। तर, चासो भने देखाएको छ।

प्रतिक्रिया दिनुहोस्