शेयर बजारमा करिब ३ अर्बको सामूहिक लागानी कोष आउँदैं

0
Shares

  • हेमन्त जोशी,काठमाडौं

शेयर बजारमा विभिन्न बैंक तथा वित्तिय संस्थाले आईपीओ, एफपिओ, हकप्रद र बोनस शेयर घोषणा गर्दै गरेको बेला बैंकहरूको सहायक कम्पनीले पनि विभिन्न स्किम फन्डहरू निष्काशन गर्न थालेका छन्। साना लगानीकर्ताहरूबाट पुँजी संकलन गरी धितोपत्रको प्रथामिक शेयर, दोस्रो बजार तथा सरकारी ऋणपत्रमा लगानी गरिन्छ। हाल पुँजी बजारमा सामूहिक लागनी कोषतर्फ आकर्षण बढेको छ।

दोस्रो बजारभन्दा सामूहिक लागनी कोष (म्युचुअल फन्ड) मा लगानी सुरक्षित र कम जोखिम हुने भएकाले यसमा लगानीकर्ताको आकर्षण बढेको हो। हालै नबिल बैंकको १ अर्ब रुपियाँको ‘नबिल इक्युइटी फन्ड’ र एनएमबी बैंकको ८० करोड रुपियाँको ‘एनएमबी हाइब्रिड फन्ड एल–१’ को नामको सामूहिक लागनी कोष बजारमा ल्याएका थिए। यी सामूहिक लगानी कोषमा स्किमले माग गरेको बढी आवेदन परेको थियो।

यसैक्रममा बजारमा २ अर्ब ८० करोड रुपियाँको सामूहिक लागनी कोष आउने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआईबीएल प्रगति फन्ड’, लक्ष्मी बैंकको ‘लक्ष्मी भ्यालु फन्ड’ र सिद्धार्थ बैंकको ‘सिद्धार्थ इक्विटी फन्ड’ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल क्यापिटल अन्तर्गतको ‘एनआईबीएल प्रगति फन्ड’ कम्पनीको दोस्रो योजना हो। एनआईबीएल क्यापिटलको पहिलो योजना एनआईबीएल समृद्धि फन्ड–१ रहेको छ। ८० करोड रुपियाँको ७ वर्षे बन्दमुखी स्किम रहेको छ। कम्पनीले दोस्रो स्किम ६० करोड रुपियाँको ‘एनआईबीएल प्रगति फन्ड’ जारी गर्न गत जेठ ३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

लक्ष्मी बैंकको सहायक कम्पनीको रूपमा रहेको लक्ष्मी क्यापिटलको दोस्रो योजना ‘लक्ष्मी भ्यालु फन्ड’ नेपाल धितोपत्र बोर्डबाट स्वीकृतको लागि पाइपलाइनमा बसेको छ। कम्पनीले १ अर्ब रुपियाँको लक्ष्मी भ्यालु फन्ड जारी गर्नका लागि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको थियो । लक्ष्मी भ्यालु फन्ड १ कम्पनीको पहिलो योजना रहेको थियो । ५० करोड रुपियाँ बराबरको लक्ष्मी भ्यालु फन्ड–१ पाँच वर्षे बन्दमखी योजना रहेको छ।

त्यस्तै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले पनि तेस्रो योजनाको रूपमा ‘सिद्धार्थ इक्विटी फन्ड’ शेयर बजारमा लयाउने भएको छ। १ अर्ब २० करोड रुपियाँको योजना रहेको कम्पनीले जारी गर्ने अनुमति माग गर्दै गत असोज ४ गते बोर्डमा निवेदन दिएको छ। सिद्धार्थ क्यापिटलको पहिलो योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ रहेको छ भने दोस्रो योजना सिद्धार्थ इक्युटी ओरियन्टेड स्किम रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको म्युचुअल फन्ड एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जारी गर्नेछ भने लक्ष्मी भ्यालु फन्ड लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत जारी गरिनेछ। त्यस्तै, सिद्धार्थ इक्विटी फन्ड सिद्धार्थ क्यापिटल लिमिटेडले निष्काशन गर्नेछ।