सन्तान जन्माउने प्रतिस्पर्धामा अर्बपति इलोन मस्कदेखि टेलिग्रामका संस्थापक पाभेल डुरोभसम्म


विश्वका विकसित मुलुकहरूमा जन्मदर ऐतिहासिक रूपमा घटिरहेका बेला केही अर्बपतिहरू भने आधुनिक प्रविधि र अपार सम्पत्तिको सहारामा धेरैभन्दा धेरै सन्तान जन्माउने होडमा लागेका छन्। यस प्रवृत्तिलाई अहिले किडम्याक्सिङ नाम दिइएको छ।

किडम्याक्सिङ भन्नाले आफ्ना सन्तानको संख्या बढाएर शक्ति, प्रभाव, वंश र भविष्यमा आफ्नो उपस्थिति विस्तार गर्ने सोचलाई जनाउँछ। एकातिर सामान्य परिवारहरू सन्तान जन्माउन वा आईभीएफ उपचारका लागि ऋण लिन बाध्य छन् भने अर्कोतर्फ केही अर्बपतिहरूले करोडौं रुपैयाँ खर्च गरेर सरोगेसी, स्पर्म डोनेशन र डोनर एगमार्फत ठूलो संख्यामा सन्तान जन्माइरहेका छन्।

यस सन्दर्भमा अमेरिकी अर्बपति तथा टेस्ला र स्पेसएक्सका प्रमुख इलोन मस्कको नाम सबैभन्दा धेरै चर्चामा छ। उनका हाल १४ सन्तान छन्। यस्तै, टेलिग्रामका संस्थापक पाभेल डुरोभले आफ्नो स्पर्म डोनेशनबाट १०० भन्दा बढी सन्तान जन्मिएको दाबी गरेका छन्।

अमेरिकी बीमा व्यवसायी ग्रेग लिन्डबर्गले ‘बेबी प्रोजेक्ट’ सञ्चालन गर्दै धेरै सन्तान जन्माउने प्रयास गरेका थिए। उनीमाथि केही महिलालाई झुक्याएर एग डोनेशन गराएको आरोपसमेत लागेको थियो। उनीसँग १२ सन्तान रहेको सार्वजनिक भइसकेको छ। यौन अपराधी जेफ्री एपस्टिनले समेत आफ्नो डीएनए धेरैभन्दा धेरै सन्तानमार्फत फैलाउने चाहना व्यक्त गरेको विवरण सार्वजनिक भइसकेको थियो।

क्यालिफोर्निया विश्वविद्यालयकी प्रजनन विशेषज्ञ आर्ली रसेलका अनुसार आजको आईभीएफ प्रविधि केवल सन्तान प्राप्त गर्ने माध्यममा सीमित छैन। यसको प्रयोग लिंग छनोट, वंशाणुगत रोगको जोखिम घटाउने तथा निश्चित आनुवंशिक विशेषता छनोट गर्नसमेत हुन थालेको छ। तर यस्तो महँगो प्रविधिको पहुँच मुख्यतः अर्बपतिहरूमा मात्र रहेको उनी बताउँछिन्।

मनोवैज्ञानिकहरूका अनुसार विगतमा राजाहरूले आफ्नो वंश विस्तारलाई शक्ति र प्रभावको प्रतीक मान्थे भने अहिले केही धनाढ्य प्रविधि उद्यमीहरूले आफ्नो आनुवंशिक विरासतलाई भविष्यको लगानीका रूपमा हेर्न थालेका छन्। फरक यति मात्र हो कि पहिले शक्ति विस्तारका लागि युद्ध र हतियार प्रयोग हुन्थ्यो भने अहिले प्रविधि र प्रजनन विज्ञान प्रयोग भइरहेको छ।

यद्यपि यस प्रवृत्तिले नैतिक र सामाजिक बहसलाई पनि तीव्र बनाएको छ। अमेरिकी लेखिका अन्ना लोई सुसम्यानका अनुसार सरोगेट आमाहरूको शोषण, महिलाको सहमतिको उल्लङ्घन, तथा जन्मिएका बालबालिकाको उचित हेरचाहजस्ता विषय गम्भीर चिन्ताका रूपमा देखिएका छन्। कतिपय घटनामा बालबालिका विभिन्न देशमा अन्य व्यक्तिको संरक्षणमा हुर्किएका छन् भने जैविक पिता उनीहरूका लागि केवल संख्या बढाउने माध्यमजस्तै बनेको आरोप लाग्ने गरेको छ।

समाजशास्त्री इवा इलुजले समयमै कडा नियमन र नैतिक बहस नभए भविष्यमा परिवारको परम्परागत अवधारणामै गम्भीर असर पर्न सक्ने चेतावनी दिएकी छन्।

स्रोत : द न्युोर्क टाईम्स