गढीमाई नगरपालिकाको राजस्व हिनामिनामा भ्रष्टाचार मुद्दा, पूर्वनगरप्रमुखसहित चार जनाविरुद्ध साढे २ करोडभन्दा बढी बिगो दाबी


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीसम्बन्धी ठेक्कामा राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमपुरघाट क्षेत्रको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासीसम्बन्धी आर्थिक वर्ष २०७६/०७७ को ठेक्कामा सरकारलाई रु. २ करोड ५७ लाख ६२ हजार बराबरको राजस्व नोक्सानी पुर्‍याएको निष्कर्ष निकाल्दै आरोपपत्र दायर गरेको जनाएको छ।

अनुसन्धानका क्रममा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले रु. ३ करोड २५ लाख कबोल गरी ठेक्का स्वीकृत गराए पनि तोकिएको समयभित्र पूरा रकम जम्मा नगरेको पाइएको आयोगले जनाएको छ। त्यसपछि पनि ठेक्का सम्झौताका सर्तविपरीत गलत विवरणका आधारमा सम्झौता गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिइएको आरोप लगाइएको छ।

आयोगका अनुसार कम्पनीले सम्झौताअनुसार बुझाउनुपर्ने रकम नतिरी ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी आर्थिक लाभ लिएको थियो। साथै, बाँकी राजस्व असुल नगरी रकम दाखिला भइसकेको भनी गलत प्रतिवेदनसमेत पेश गरिएको अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा तत्कालीन नगरप्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र कम्पनीका तर्फबाट काम गर्ने राधेश्याम साह विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले सबै प्रतिवादीसँग रु. २ करोड ५७ लाख ६२ हजार बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कैद सजायको माग गरेको छ। सार्वजनिक पदमा रहेका कर्मचारीविरुद्ध थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ।