काठमाडौं
नेपाल संवत् ११४६ बछलाथ्व अष्टमीका अवसरमा असनको केल टोलस्थित कनक चैत्य महाविहार (जनबहाल)मा वज्रयान बौद्ध परम्पराअनुसार दशांशय यज्ञसहित सहस्रबार सप्तविधानुत्तर पूजा (त्वांक्ष पूजा) श्रद्धापूर्वक सम्पन्न गरिएको छ। उक्त अवसरमा अष्ट बोधिसत्वहरूलाई अभिशेष गरिनुका साथै मन्त्र प्रदान पनि गरिएको थियो ।
श्रीखण्ड तरुमूल महाविहारको मयजु पुचःको अगुवाइमा शुक्रबार आयोजित उक्त विशेष पूजामा एकैसाथ ३० जना वज्राचार्यहरूको सहभागिता रहेको थियो। बिहानदेखि दिनभरी निरन्तर सञ्चालन भएको उक्त अनुष्ठानमा ठूलो संख्यामा भक्तजन, स्थानीय समुदाय तथा बौद्ध धर्मावलम्बी सहभागी भएका थिए।

नेपाली बौद्ध समाज, विशेषतः नेपालमण्डल क्षेत्रमा प्राचीनकालदेखि प्रचलित सप्तविधानुत्तर पूजा वज्रयान परम्पराको महत्वपूर्ण धार्मिक साधना मानिन्छ। यसलाई नेवाः बौद्धधर्ममा “संखव पूजा”का नामले पनि चिनिने गरिन्छ। श्रद्धा, साधना र लोककल्याणको भावनासहित गरिने यो पूजा जीवमात्रको मंगल, शान्ति र उद्धारका लागि समर्पित मान्यता छ।
धार्मिक परम्पराअनुसार “सप्त” भन्नाले सात, “विधान” भन्नाले विधि वा प्रक्रिया, र “अनुत्तर” भन्नाले सर्वोच्च साधनात्मक अभ्यासलाई जनाउँछ। वज्रयान दर्शनमा क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तरयोगतन्त्रका अभ्याससँग यसको सम्बन्ध जोडिन्छ।

यस पूजामा सात प्रमुख विधि समावेश गरिन्छ। जसअन्तर्गत बन्दना, पूजना, देशना, अनुमोदना, अध्येषणा, याचना र परिणामना रहेका छन्। यी सात चरणमार्फत आत्मशुद्धि, पुण्य सञ्चय, प्रज्ञा विकास तथा समस्त प्राणीप्रति करुणाभाव अभिवृद्धि गरिने विश्वास छ।
वज्रयान बौद्ध परम्परामा पूजा केवल व्यक्तिगत कल्याणका लागि नभई “सर्वप्रकार जगत हिताय” अर्थात् सम्पूर्ण जगत्को हितका लागि गरिने मान्यता रहेको छ। यही कारण सप्तविधानुत्तर पूजालाई सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको अनुष्ठानका रूपमा लिइन्छ।

बौद्ध अध्येताहरूका अनुसार नेपालमण्डलमा यस्ता पूजाहरूले धार्मिक साधनासँगै नेवार समुदायको सांस्कृतिक निरन्तरता, सामुदायिक एकता र परम्परागत ज्ञानको संरक्षणमा पनि ठूलो भूमिका खेलेका छन्।
पूजामा सहभागी श्रद्धालुहरूले देशमा शान्ति, समृद्धि, प्राकृतिक विपत्तिबाट मुक्ति तथा सबै प्राणीको कल्याणको कामना गरेका थिए। धार्मिक धूप, दीप, मन्त्रपाठ, वाद्यवादन र यज्ञीय वातावरणले महाविहार परिसर दिनभर आध्यात्मिक भावनाले भरिएको थियो।












प्रतिक्रिया