बुटवल।
पुरानो सीप कलाको संरक्षण र जगेर्ना गर्न बुटवलमा ’रैथाने सीप कला र उत्पादन प्रदर्शनी’ हुने भएको छ । ‘हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको सान : रैथाने सीप र कलाको जगेर्ना हाम्रो अभियान’ भन्ने नारासहित यही वैशाख ५ गते जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रूपन्देही र रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । एक दिने प्रदर्शनीमा ५० भन्दा बढी स्टल निःशुल्क रूपमा रहने छन्।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रेवन्त विश्वकर्माले आधुनिकताको नाममा देशका रैथाने सीप कला हराउँदै गएकाले त्यसको संरक्षण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार प्रदर्शनीमा मौलिक खाद्य परिकारसहित स्थानीय उत्पादन र व्यवसायीबीच समन्वय तथा बजार विस्तारका लागि प्लेटफर्म प्रदान गरिनेछ ।
रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा.मानबहादुर बिकेले प्रदर्शनीले लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार सांस्कृतिक सम्पदा प्रति जनचेतना अभिवृद्धि तथा स्थानीय रोजगारी र आर्य आर्जनमा टेवा पुग्ने बताउनु भयो ।देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा रैथाने सीप कलाको ५ प्रतिशत योगदान समेत रहेको बताउँदै डा. बिकेले समुदाय स्तरबाट काठमाडौँ बाहिर यस्तो प्रदर्शनी हुन लागेको बताए ।
प्रदर्शनी बुटवल ट्राफिक चोकको पुरानो बुटवल चलचित्र मन्दिरको मैदानमा हुनेछ । खस्यौली बजारका अध्यक्ष समुन्द्र घिमिरेले आफूहरूले हरेक हप्ता खस्यौली बजारमा पुराना र रैथाने बस्तुहरू बिक्री वितरण गर्दै आएको बताउँदै पुराना सीप जीवन र स्वास्थ्यसँगै जोडिएका उपयोगी रहेकाले यसको संरक्षणमा सबैको चासो आवश्यक रहेको बताए ।
इन्द्रेणी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कृष्ण कँडेलले देशको कला संस्कृतिसँगै सीप र उत्पादन पनि जोगाउन लाग्नुपर्ने बताए । त्यस्तै प्रदर्शनीलाई आदिवासी जनजाती महासंघले सहयोगर्ने भएको उपाध्यक्ष ईन्द्रराई र नगर अध्यक्ष अरुण श्रेष्ठले बताए ।











प्रतिक्रिया