“नयाँ वर्षमा मौसम कस्तो रहनेछ?”


काठमाडौं ।

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमको यो परिवर्तनले तापक्रम र जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ। तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी बढ्न सक्ने देखिएको छ।