काठमाडौँ ।
कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले आफ्ना ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको विश्वास र सहयोगप्रति हार्दिक धन्यवाद दिएको छ । देशकै अग्रणी बैंक बन्ने लक्ष्यसहित उत्कृष्ट बैङ्किङ सेवा र वित्तीय सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाबाहिरका प्रदेशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो, जसले स्थानीय रक्त बैंकको आवश्यकता पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै “परम्परागत भेषभूषा” कार्यक्रममार्फत कर्मचारीहरूले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाक लगाई विविधताको सम्मान र समावेशीता प्रवद्र्धन गरेका छन् ।
बैंकले “समुदायका लागि कुमारी बैंक” कार्यक्रम पनि सुरु गर्दै सामाजिक उत्तरदायित्वका कार्यहरू देशभर निरन्तर सञ्चालन गर्ने जनाएको छ । यसै अवसरमा ‘सिल्भर सेभिङ्स’ बचत खाता सार्वजनिक गरिएको छ, जसमा बचत खातामै मुद्दती खाताजस्तै ब्याजदर उपलब्ध हुने बताइएको छ । विगत २५ वर्षदेखि सेवा दिँदै आएको बैंकले देशभरका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ विस्तार काउन्टर तथा ४८ शाखारहित बैङ्किङ इकाइमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।











प्रतिक्रिया