काठमाडौँ
अन्तर्राष्ट्रिय बालक्यान्सर दिवस २०२६ (आईसीसीडी)का अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ । माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विविध कार्यक्रमले सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार तथा अभिभावकलाई साझा उद्देश्यमा जोड्दै आशावादी सन्देश दिएका छन्—बालक्यान्सर समयमै पहिचान गरी उचित उपचार गरे निको हुन सक्छ ।
अभियानको सुरुवात भक्तपुर क्यान्सर अस्पताल बाट भएको थियो, जहाँ प्रदेश तथा संघीय तहका सरोकारवालाले समन्वित र प्रभावकारी क्यान्सर सेवाको आवश्यकता औंल्याए। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (एमओएचपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली र बालक्यान्सर सेवामा पहुँच विस्तार गर्न जोड दिनुभयो ।
भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल मा फागुन १ देखि ३ गतेसम्म आयोजित तीनदिने कार्यक्रममा समुदायस्तरीय सचेतना अभिवृद्धिमा विशेष ध्यान दिइयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बालक्यान्सरका प्रारम्भिक चेतावनी संकेत पहिचान गर्ने तालिम प्रदान गरियो, जसले छिटो सिफारिस र समयमै उपचार सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा निको भइसकेका बालबालिका र उपचाररत परिवारबीच अनुभव आदानप्रदान सत्रसमेत आयोजना गरियो, जसले प्रारम्भिक उपचारको जीवनरक्षक महत्व उजागर ग¥यो ।
अभियानको समापन कान्तिबाल अस्पताल मा भएको थियो, जहाँ ‘अभिभावक सहयोग समूह’ औपचारिक रूपमा गठन गरियो। स्वयंसेवी अभिभावक सम्मिलित यस समूहले मासिक भेटघाटमार्फत उपचाररत परिवारलाई मार्गदर्शन, भावनात्मक साथ र व्यवहारिक सुझाव प्रदान गर्नेछ ।
उपचार प्रक्रियामा भावनात्मक सन्तुलन र मानसिक सुदृढताको महत्वलाई ध्यानमा राख्दै वल्र्ड चाइल्ड क्यान्सर (डब्लुसीसी) र रमेश गुप्ता मेमोरियल ट्रस्ट (आरजीएमटी)ले विभिन्न अस्पतालमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गरेका छन् । साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालका बालक्यान्सर वार्डलाई अझ बालमैत्री बनाउन विशेष खेल सामग्रीसमेत प्रदान गरिएको छ ।
यस वर्षको आईसीसीडी अभियान नेपाल सरकार, अग्रणी बाल तथा क्यान्सर उपचार संस्था र नागरिक समाज संगठनहरू—टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर (ट्याक) र धैर्य क्यान्सर फाउन्डेसन—बीचको सहकार्यमा सम्पन्न भएको हो। प्रारम्भिक पहिचान, समुदायस्तरीय सचेतना र परिवारकेन्द्रित उपचार प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित अघि बढाइएका यी प्रयासहरूले प्रत्येक बालबालिकालाई समयमै उपचार र सहानुभूतिपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता पुनः दोहो¥याएका छन् ।











प्रतिक्रिया